मास्क वितरण गर्दै हिँडेको मेयरसहितको टोली । तस्बिर : अच्युतम सापकोटा
हरिवन – पछिल्ला दिनमा कोरोना संक्रमणबाट बच्न सामान्य सावधानी समेत अपनाउन छाडिएको अवस्थामा सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई भने मास्क लगाउन आग्रह गर्दै सडकमा निस्किएका छन् ।
नजिकिँदै गरेको प्रमुख चाड दशैंका लागि किनमेल गर्न आउनेहरुको बजारमा भीडभाड बढ्दै गएपछि यो अवस्थामा अझ बढी सावधानी अपनाउनु पर्ने भएकाले मेयर प्रसाई आफै मास्क लगाउन आग्रह गर्दै बजार तथा राजमार्गमा निस्किएका हुन् । हरिवन नगरपालिका, यहाँको उद्योग वाणिज्य संघ र ईलाका प्रहरी कार्यालयको संयुक्त आयोजनामा आज (शनिवार) हरिवन बजारका दिन, दिउँसो बजारमा मास्क नलगाई आएका सर्वसाधारणलाई मेयर प्रसाईकै नेतृत्वमा निःशुल्क रुपमा मास्क समेत वितरण गरिएको छ ।
कोरोनाको संक्रमण कायमै रहेकाले मास्क लगाएर मात्रै हिँड्नु पर्छ भन्ने सन्देश प्रवाह गर्न मास्क बाँडिएको मेयर प्रसाईले बताए । उनीसँगै हरिवनका इन्सपेक्टर राजेन्द्र कुमार उपाध्याय, उद्योग वाणिज्य संघका अध्यक्ष मोहनलाल श्रेष्ठ, नेकपा नेता चूडामणि वाग्ले, बाग्मती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, अगुवा रामहरि प्रसाई लगायत पनि सचेतनामूलक किसिमले गरिएको मास्क वितरण कार्यमा सरिक भएका थिए ।

