logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

अटोबाट लागूऔषध बरामद, ओसारपसारमा संलग्न दुई पक्राउ


  • उज्यालो अभियान

लालबन्दी – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीबाट आइतवार राती ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।

दक्षिणतर्फबाट ना १ ह ७३१५ नं. को अटोमा राखेर ल्याउँदै गरिएको लागूऔषध ईलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बरामद गरेको हो । लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले अटोमा बोरोभित्र लुकाईछिपाई ल्याउँदै गरिएको वाइनरिकेक्स १६६ सीसी, नाइट्राभेट ट्याब्लेट १५ पत्ता र डाइलेक्स डीसी ८७ सीसी बरामद गरिएको जानकारी दिए ।

लागूऔषध ओसारपसारमा संलग्न अटो चालक हरिपुर नगरपालिका–८, जगतपुर बस्ने ३१ वर्षीय श्याम सुन्दर दास र अटोमा सवार बरहथवा नगरपालिका–४, शान्तिटोल बस्ने ३० वर्षीय अनन्त कार्कीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

यसैबीच लालबन्दी प्रहरीले दुई दिनअघि लालबन्दी नगरपालिका–८, मरिण जाने सडकबाट ५ किलो लागूऔषधसहित गाँजासहित एक जनालाई पक्राउ गरेको थियो । झोलामा लुकाएर ना २२ प ९०१९ नं. को मोटरसाइकलमा गाँजा लिएर आउँदै गर्दा पक्राउ परेका लालबन्दी नगरपालिका–१४, नारायणखोलाका १९ वर्षीय विश्राम गोलेलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।