logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीका सरकारी कार्यालयहरुले आजदेखि सेवाग्राहीलाई सेवा प्रवाह गर्दै


  • उज्यालो अभियान

हरिवनस्थित ईलाका प्रशासन कार्यालय । तस्बिर : उज्यालो अभियान

हरिवन – झण्डै एक महिना बन्द भएका सर्लाहीका सरकारी कार्यालयहरुले आज (मंगलवार) बाट सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्दैछन् ।

कोरोना संक्रमण समुदाय स्तरमै पाइएपछि जिल्लामा साउन २६ गतेदेखि निषेधाज्ञा लगाइएसँगै सरकारी कार्यालयका अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएका थिए । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार हिजोबाट निषेधाज्ञा हटाइएसँगै आजबाट सरकारी कार्यालयहरु खुल्न लागेका हुन् ।

सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन, ईलाका प्रशासन, मालपोत र नापी कार्यालयले एक दिन एउटा पालिका र अर्को दिन अर्को पालिका अर्थात गाउँपालिका/नगरपालिका छुट्याएर पालैपालो सेवा दिने छन् । त्यसका लागि अहिले ती कार्यालयहरुले सूचना निकालेर पालिका र बार तोकिरहेका छन् ।

उत्तरी भेगको हरिवनस्थित मालपोत कार्यालयले आज दिउँसोसम्म पालिका अनुसार बार तोकेर भोलीबाट मात्रै सेवा प्रवाह गर्ने तयारी गरेको छ । सदरमुकाम मलंगवास्थित जिल्ला मालपोत कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण देखिएकाले सीमित कर्मचारी राखेर सेवा दिन लागिएको कार्यालय प्रमुख गोपाल प्रसाद बरालले बताए ।