logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा चौंथो पटक थपिएको निषेधाज्ञा आज सकिँदै, दिउँसो डीसीसीएमसीको बैठक


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बिर : उज्यालो अभियान)

जनार्जन खत्री, उज्यालो अभियान/ मलंगवा – सर्लाहीमा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न आज (आइतवार) जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्दै छ ।

समुदाय स्तरमा फैलिँदै गएको कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै गत साउन २६ गतेदेखि जिल्लामा निषेधाज्ञा लगाइएको हो । चौंथो पटक थपिएको निषेधाज्ञाको अवधी आज राती १२ बजेपछि सकिने भएकाले दिउँसो नै बैठक बसेर थप निर्णय लिन लागिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, सबै सुरक्षा अंगका प्रमुखहरु, सदरमुकाम मलंगवा नगरपालिकाका मेयर, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने छ । जिल्लामा पछिल्लो समय बैठक बस्दै पिच्छे निषेधाज्ञा खुकुलो पारिँदै लगिएको छ । बजार र बैंकिङ कारोवार सूचारु भइसकेका छन् भने अब सरकारी कार्यालय र सार्वजनिक भाडाका गाडी चल्न बाँकी छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले गाडी तत्कालै नखोलेपनि मालपोत, नापी लगायत कार्यालयका सेवा र प्रशासनको तर्फबाट हुने नागरिकता, अन्य सिफारिस वितरण लगायतका सेवा यसअघि बीचमा केही समय गाउँपालिका तथा नगरपालिका अनुसार गरिएको आलोपालो प्रणालीमा सूचारु गर्ने की ? भन्ने विषयमा आजको बैठकमा छलफल हुने बताए ।

केही सरकारी कार्यालयहरुको सेवा लामो समय बन्द गरिरहँदा सर्वसाधारण मारमा परेको गुनासो बढेकाले कार्यालयहरुको सेवा सूचारुका सम्वन्धमा केही निर्णय हुन सक्ने सिडिओ पौडेलको भनाई छ । सर्लाहीमा आजसम्म १७ सय ७९ जनामा कोरोना संक्रमण पाइएको छ ।