Oplus_131072
रिना आले/हरिवन, १७ जेठ – राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा सर्लाहीको हरिवनमा शनिबार कार्यक्रम सम्पन्न भएको छ ।
`महिला अधिकारको सम्मान : आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मुल नाराको साथ कार्यक्रममा विभिन्न क्षेत्रका महिला नेतृत्व तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । उक्त अवसरमा वक्ताहरूले महिलाहरू आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले महिला अधिकार कुनै एक महिला वा निश्चित समूहको मात्र विषय नभई सम्पूर्ण महिलाको साझा मुद्दा भएकाले अधिकार प्राप्ति, संरक्षण र सशक्तीकरणका लागि सबै महिला एकजुट हुन आवश्यक रहेको बताएका थिए ।
शिक्षा, रोजगारी, नेतृत्व विकास तथा निर्णय प्रक्रियामा महिलाको समान सहभागिताले मात्रै वास्तविक महिला सशक्तीकरण सम्भव हुने वक्ताहरुकाे धारणा थियाे । साथै समाजमा अझै विद्यमान विभेद, हिंसा र असमानताको अन्त्यका लागि सामूहिक पहल अपरिहार्य रहेको उल्लेख गरे । कार्यक्रममा सहभागी महिलाहरूले महिला अधिकारको सुनिश्चितता, आत्मनिर्भरता र समान अवसरका लागि निरन्तर संघर्ष तथा सहकार्यको आवश्यकता औँल्याएका थिए ।
राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले महिला एकता, जागरण र अधिकारप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो । कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य सरस्वती सुब्बा, अखिल नेपाल महिला संघकी केन्द्रय सदस्य रिता मैनाली, मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेली तथा अन्तरपार्टी महिला सञ्जालकी पूर्व अध्यक्ष सन्जिता घिमिरे महिला नेत्तृ अन्जु पौडेल लगायत हरिवनका विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुको उपस्थिति रहेको कार्यक्रम संचालक आरति लामाले जानकारी दिइन् । राष्ट्रिय महिला अधिकार दिवस (जेठ १६) नेपालमा महिला अधिकारका लागि भएका ऐतिहासिक उपलब्धिहरूको स्मरण गर्दै मनाइन्छ । जिल्लाका अन्य विभिन्न स्थानमा पनि महिला अधिकार दिवसका अवसरमा कार्यक्रमहरु भएकाे छ ।