logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बाढीले खोलाको बाटो बगायो, बस चल्न छाडेपछि स्थानीयलाई सास्ती


  • उज्यालो अभियान

नारायणखोला, २६ चैत – सर्लाहीको उत्तरी चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा बाढी आएर खोलाको बाटो बिगारेसँगै आजबाट बस चल्न छाडेका छन् ।

राति ठुलो पानी परेर लखन्देही र डाइनी खोलामा बाढी आउँदा खोला बगरको बाटो नामोनिसान नरहने गरी बगाएपछि बस चल्न नसकेका हुन् । अहिलेसम्म सडक नपुगेको सर्लाहीको ‘कर्णाली’ भनेर चिनिने नारायणखोलामा पानी नपर्दा खोलाको बगर भएर बस तथा अन्य गाडी गुड्ने गरेका छन् ।

आज भने बाढी आएर बस चल्न नसकेपछि नारायणखोलाका स्थानीय लालबन्दी बजारसम्म आउन पत्थरकोट छेडागाउँसम्म तीन/चार घण्टा बढी पैदल हिँडेर आएका छन् । लालबन्दी बजारदेखि पत्थरकोट छेडासम्म सडक पुगे पनि त्यहाँदेखि उत्तर नारायणखोलातर्फ लखन्देही र डाइनी खोलाको बगर भएर हिँड्नुपर्ने बाध्यता रहेको छ ।

आफूसहित केही युवाले बाढीमा हेलिएर छेडासम्म निकै मुस्किलले मोटरसाइकल ल्याए पनि बस र अन्य गाडी चल्न नसकेको नारायणखोला मोटरदोभानका भीमबहादुर पाख्रिनले जानकारी दिए । लालबन्दी बजारदेखि पत्थरकोट हुँदै खोलाको बगर भएर नारायणखोलाको कामिटार, डाइनी र सिन्धुलीको मरिणसम्म गरेर ३ वटा बस चल्ने गरेका छन् ।

लालबन्दी १४ का वडाध्यक्ष छेनामसिंह घिसिङले रातिको बाढीले बगाएको बाटो पानी पर्न रोकिनासाथ मर्मत गरेर तुरुन्तै बस चलाइने बताउनुभएको छ । तर असारपछि बर्खा लागेर दिनैपिच्छे बाढी आउन थालेपछि भने तीन/चार महिना गाडीघोडा पूर्णरुपमा ठप्प नै उहाँको भनाइ छ ।

यो वर्ष पत्थरकोट छेडादेखि साबिक नारायणखोला गाविसको कार्यालय रहेको मोटरदोभान नजिकै पर्ने तीनतलेसम्म सडक बनाउने लक्ष्यसहित धमाधम काम भइरहेको वडाध्यक्ष घिसिङले बताए । बाढी आएर खोलाको बाटो बगाएपछि आज मात्र पनि स्कारभेटर लगेर चुरेपाखा तर्फको बाटो बनाउने काम सुरु गरिएको वडाध्यक्ष घिसिङले जानकारी दिए ।

लालबन्दी नगरपालिका र वडा कार्यालयले वर्षेनि बजेट बिनियोजन गरी चुरेपाखा भएर मोटरदोभान नजिक सडक पुर्‍याए पनि लालबन्दी १३ र १४ को सीमामा पर्ने नारायणखोलामा पुल निर्माणको काम भने लामो समयदेखि अलपत्र रहेको छ ।