मलंगवा, २१ चैत – जिल्ला प्रशासन कार्यालय सर्लाहीले मौसम पूर्वानुमान महाशाखाका अनुसार हावाहुरीको जोखिम रहेको बताइएकाले सावधानी अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै सर्लाही, रौतहट, महोत्तरीलगायत जिल्लाहरुमा तीव्र हावाहुरी (प्रति घण्टा ४०–५० किलोमिटरसम्म) चल्न सक्ने पूर्वानुमान गरिएकाले सावधानी अपनाउन आग्रह गरेको हो । तीव्र हावाहुरी चल्दा रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा संचार सेवा प्रभावित हुने जोखिम रहेकोले सावधानी अपनाउन एवं अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ ।
सर्लाहीसहित आसपासका क्षेत्रमा आज दिउँसोदेखि पानी पर्ला जस्ताभई हावाहुरीको जोखिम समेत देखिएको छ । किसान हावाहुरीले मकै, गहुँलगायतका बालीमा क्षति गर्ने हो कि भन्ने चिन्तामा छन् ।
चैत लागेपछि बेलाबेलामा पानी पर्ने र हावाहुरी चल्ने भइरहेको सर्लाहीसहित आसपासका क्षेत्रमा विगत तीन दिनदेखि गर्मीसमेत बढिरहेको छ ।