बरहथवा, ३० फागुन – सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुरमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । गएसाँझ ७ बजेतिर बरहथवाबाट सीतापुरतर्फ गइरहेको डिएल ९ सिजेड ०७७७ नम्बरको स्कारपियोले अन्धाधुन्द मानिसहरुलाई ठक्कर दिँदा पैदलयात्री बरहथवा नगरपालिका–९, बस्ने ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको हो ।
स्कारपियोको ठक्करबाट घाइते हुनेहरु विवाहमा जन्ती आएका मानिस र गाउँले रहेका छन् । घाइतेहरुमा रौतहट दोस्तिया पिपरियाका ७० वर्षीय कमल पटेल, रौतहट गढिमाई नगरपालिका ११ की ४५ वर्षीया बन्धना पटेल, बरहथवा १० का १८ वर्षीय रुपेश मण्डल, १५ वर्षीया प्रतिमाकुमारी पटेल, १९ वर्षीय दिलिप राय, बरहथवा ७ का २३ वर्षीय चन्दन पासवान, बरहथवा १० की १२ वर्षीया दिपिका जैसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत र ५५ वर्षीय रामनारायण ठाकुर रहेका छन् ।
घाइतेहरुको बरहथवाका विभिन्न अस्पतालमा उपचार जारी छ ।
प्रारम्भिक अनुसन्धानमा एक जना पैदलयात्रीलाई ठक्कर दिएर भागेको स्कारपियोलाई रोक्न खोज्दा अन्य व्यक्तिहरुलाई समेत ठक्कर दिँदै भाग्ने क्रममा धेरै मानिस घाइते भएका इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले बताए ।
डिएसपी भट्टराईका अनुसार स्कारपियो र चालक बरहथवा नगरपालिका–१२, लौकठ बस्ने ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
चालकसँग अब आज थप सोधपुछ र अनुसन्धान हुने डिएसपी भट्टराईले बताए ।