पानी पर्लाजस्तो भई धुम्मिएको सर्लाहीको मौसम ।
लालबन्दी, २५ फागुन – सर्लाहीमा आज पनि बिहानैबाट मौसम धुम्मिएको छ ।
यहाँ अस्ती फागुन २३ गतेदेखि नै घाम नलाग्ने र पानी पर्ला जस्तो भई मौसम धुम्मिने भइरहेको हो । तीन दिनदेखि त मध्यान्हपख हपक्क गर्मी समेत महसुस हुन थालिसकेको ।
यहाँ साँझ–बिहान भने अझै सामान्य चिसो नै महसुस हुन्छ । तर मध्यान्ह र दिउँसोपख गर्मी चढ्न थालेको हो ।
मौसम बदली भई बादल लागेर पानी पर्लाजस्तो भए पनि वर्षा भने हुन सकेको छैन् । मौसम बदलीसँगै हावाहुरी चलेर गहुँ, मकैलगायत बालीमा क्षति गर्ने चिन्ता रहेको किसानले गुनासो गरेका छन् । अहिले किसानको खेतमा मकै घोगा लाग्न थालेको छ भने गहुँ पनि पसाएर दाना लाग्ने बेला भएको छ ।
यस्तै लामो समयदेखि पानी नपर्दा यहाँ धुलो, धुँवाको प्रदुषण बढ्दो छ । अहिले पूर्वपश्चिम राजमार्ग, पुल र लच्काहरु भत्काएर धमाधम निर्माणको काम भइरहेकाले पनि जताततै धुलोको समस्या छ ।
मौसम परिवर्तन र प्रदुषणका कारण मानिसमा स्वास्थ्य समस्या नि बढ्दो छ ।