logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

खानेपानी उपभोक्ता समिति हरिवनले कमायो २३ लाख मुनाफा


  • उज्यालो अभियान

सन्जु कर्ण/हरिवन, २६ पुस – सर्लाहीको हरिवन नगरपालिका ८ मा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष एवं हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाको अध्यक्षता तथा मधेश सरकारका उर्जा, सिँचाई तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाले गत आर्थिक वर्ष २०८१/८२ मा कूल ७७ लाख ५५ हजार १२६ रुपियाँ ७१ पैसाको कारोबार गरी २३ लाख ३१ हजार २८० रुपियाँ ३६ पैसा खुद नाफा आर्जन गरेको जानकारी गराइएको छ ।

केही वर्षअघिसम्म जरजर अवस्थामा पुगिसकेको खानेपानी उपभोक्ता समिति अहिले भने नाफा कमाउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानी, नाफा तथा सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको संस्थाका अध्यक्ष ढुंगानाले बताए । उनका अनुसार संस्थाले अहिले हरिवन नगरपालिका वडा नं. ८, ९, ११ र ७ का एक हजार ८५० घरधुरीमा खानेपानी वितरण गर्दै आएको छ ।

आज साधारण सभाका प्रमुख अतिथि मन्त्री कुशवाहाले खानेपानी उपभोक्ता समितिका लागि नयाँ डिप बोरिङ गाड्न प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साधारण सभामा पूर्व मधेश प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन ९ का वडाध्यक्ष कोकिलानन्द उप्रेती, इलाका प्रशासन कार्यालय हरिवनका पूर्व प्रमुख राजकुमार थापा, हरिवनमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवालगायतको आतिथ्यता रहेको थियो ।