नारायणखोला, २९ मंसिर – प्रहरीले चुरेवर्ती विकट क्षेत्रस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायणखोला माइस्थानमा ४० बिघामा लगाइएको गाँजा खेती फडानी गरेको दावी गरेको छ ।
अवैध गाँजा खेती फडानी तथा नष्ट गर्न हिजो नेपाल प्रहरी र सशस्त्र प्रहरीको १३० जनाको संयुक्त टोली लखन्देही खोलै खोला भएर नारायणखोला पुगेको थियो । उक्त टोलीले चुरेक्षेत्रमा ४० बिघामा लगाइएको गाँजाको दुई लाख बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले दावी गरेका छन् ।
प्रहरीले यसअघि मङ्सिर २५ गते चुरेवर्ती क्षेत्रकै ईश्वरपुर नगरपालिका–१२ को पिपलदमारमा साढे तीन बिघामा लगाइएको १८ हजार ५०० गाँजाको बोट नष्ट गरेको थियो ।
गाँजा बरामद
प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१२, बाट ३१ केजी ५९० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । हरिवनबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ३५०६ नम्वरको मोटरसाइकलमा रहेका लालबन्दी नगरपालिका–१४, नारायणखोला घुम्ने टोल बस्ने २९ वर्षीय कान्छाराम स्याङतान र नारायणखोलाकै सानो घुम्ने बस्ने २५ वर्षीय मानबहादुर ठोकरलाई गाँजासहित पक्राउ गरेको हो ।
खैरो हिरोइनसहित पक्राउ
लालबन्दी नगरपालिका–५, डाँडाटोलमा बनाउँदै गरेको घरमा लागुऔषध खैरो हिरोइनी लुकाएर राखेका ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका ३४ वर्षीय सुवास लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेले लुकाइराखेको २१२ ग्राम खैरोे हिरोइनीसमेत प्रहरीले बरामद गरेको छ ।