हरिवन, १५ मंसिर – सर्लाहीको हरिवन नगरपालिका–१, पटौना खोलामा पुल निर्माण भएसँगै स्थानीय खुसी भएका छन् ।
हरिवन नगरपालिका १ को पटौना र भोक्टेनी गाउँलाई जोड्ने गरी पटौना खोलामा ४० मिटर लामो पक्की पुल भर्खरै निर्माण सम्पन्न भएको हो । खोलामा पुल नहुँदा वर्षायाममा आउजाउ गर्न असाध्य समस्या पर्दै आइरहेको थियो ।
लामो प्रतिक्षापश्चात सङ्घीय सरकारबाट प्राप्त चार करोड रुपियाँ खर्चिएर पुल निर्माण गरिएको हरिवन नगरपालिका १ का वडाध्यक्ष टमबहादुर तामाङले जानकारी दिए । २०८० पुसबाट पुल निर्माणको काम सुरु गरी २०८१ असारमा ढलान गर्नासाथ बाढी आएर पुलमा क्षति गरेको थियो ।
२०८१ भदौबाट पुनः काम सुरु गरेर बल्ल पुल निर्माणको काम सम्पन्न गरिएको वडाध्यक्ष तामाङले बताए । घारिबथानदेखि बागमतीसम्म जोड्ने चुरेवर्ती क्षेत्रको भित्री सडकमा पछिल्लो समय विभिन्न खोलामा पुल निर्माण हुनेक्रममा पटौना खोलामा पनि पुल निर्माण भएको हो ।
चुरेको भित्री सडक भएर परवानीपुर, पत्थरकोट, जियाजोर, भोक्टेनीलगायत क्षेत्रका वासिन्दालाई चुरेको फेदी नै फेदी हरिवन र बागमती क्षेत्रसम्म पुग्न सहज भएको वडाध्यक्ष तामाङको भनाइ छ । उनका अनुसार पत्थरकोट क्षेत्रमा लखन्देही खोलामा पुल निर्माण भए चुरेवर्ती क्षेत्रका दर्जन बढी गाउँका स्थानीयलाई पूर्वपश्चिम राजमार्गको विकल्पमा चुरेको फेदी नै फेदी आउजाउ गर्न असाध्य सहज हुने अवस्था रहेको छ ।
हरिवन नगरपालिका–१, पटौनाका सुवास श्रेष्ठले खोलामा पुल निर्माण भएसँगै किसानलाई लालबन्दी र नवलपुर बजारसम्म तरकारी बिक्री गर्न ल्याउन असाध्य सहज भएको बताए । खोलामा पुल नहुँदा साइकल, मोटरसाइकल र टेम्पु पार हुनै समस्या पर्ने गरेकोमा पुल बनेपछि सहज रुपमा आउजाउ गर्न पाउँदा स्थानीय किसान दङ्ग परेका श्रेष्ठको भनाइ छ ।