logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हरिवनमा ६५ सामुदायिक कुकुरको बन्ध्याकरण


  • उज्यालो अभियान

हरिवन, १४ मंसिर – सर्लाहीको हरिवनमा आज छाडा तथा सामुदायिक ६५ वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ ।

रेविज रोगको जोखिम बढ्दै गएपछि नगरपालिका कार्यालयले एनिमल केयर सेन्टर काठमाडौंसँग समन्वय गरी गाउँगाउँमा हिँडिरहेका सामुदायिक कुकुरलाई गाडीमा हालेर ल्याइ स्थायी बन्ध्याकरण गरेको हो । हरिवन १० सुखेपोखरीस्थित ताइवनमा रहेको पशु सेवा केन्द्रमा ६५ वटा सामुदायिक भाले एवं पोथी कुकुरलाई जम्मा पारेर स्थायी बन्ध्याकरण गरिएको हरिवन नगरपालिकाको पशु सेवा शाखाका प्रमुख एवं पशु चिकित्सक डा. महेशकुमार श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठसहित एनिमल केयर सेन्टरबाट आउनुभएका पशु चिकित्सक डा. विकास श्रेष्ठ, डा. सुनिल थापासहितका पशु प्राविधिकले कुकुरहरुको स्थायी बन्ध्याकरण गरेका छन् । १०० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने उद्देश्यसहित भोली थप एक दिन रेबिज निवारणका लागि भ्याक्सिन र बन्ध्याकरण शिविर संचालन गरिने नगरपालिकाको पशु सेवा शाखाका प्रमुख डा. श्रेष्ठले बताए ।

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले नगरभित्र पहिलो पटक यसरी सामुदायिक कुकुरहरु जम्मा पारेर बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताए ।