logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मेसुले अस्पतालको समान घर लगेको आरोप, छानविन समिति गठन


  • उज्यालो अभियान

मलंगवा, १० कात्तिक – प्रादेशिक अस्पताल मलङ्गवाका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जिव सिंहले अस्पतालका सामग्री घर लगेको विषयमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले छानविन समिति गठन गरेको छ ।

यही कात्तिक १७ गतेदेखि अनिवार्य अवकास हुन लागेका मेसु सिंहले अस्पतालका कुर्सी, दराज, पलङ्ग, पङ्खा, कुलर, डस्नालगायतका सामग्री सरकारी गाडीमा राखेर घरमा लगेको आरोप लागेको छ । यो विषयमा छानविन गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जयकिशोर साहको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकी र लेखापाल रामबाबु यादव सदस्य रहेका छन् ।

छानविन समितिलाई सरकारी सम्पत्ति निजी प्रयोजनका लागि लगिएको विषयमा सत्यतथ्य पत्ता लगाएर तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले जानकारी दिए ।

एक सातापछि अवकास हुन लागेका मेसु सिंहले भने घर लगिएको सामग्री आफ्नो निजी भएको दावी गरिरहेका छन् । उनले आफू कार्यालय प्रमुख भएकाले आफ्नो सामग्री सरकारी गाडीमा हालेर घर लगेको बताए ।