logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा छठ पर्वको रौनक


  • उज्यालो अभियान

छठपूजाका लागि व्यापार गर्न केरा संकलन गर्दै गरेका व्यापारी । (तस्बीर : रितिक/उज्यालो अभियान)

रितिक यादव/लालबन्दी, ०९ कात्तिक – सूर्यको आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व शनिबारदेखि विधिवत रूपमा सुरु भएको छ ।

चार दिनसम्म मनाइने पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आज साँझ ब्रतालुले चामल, सक्खर र दुधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने छन् ।

तेस्रो दिन सोमबार छठको मुख्य दिन हो । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अघ्र्य दिने चलन छ ।

अन्तिम दिन मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।

मधेशमा अहिले छठको रौनक छ । गाउँबस्तीमा मानिसको चहलपहल बढेको छ भने जताततै छठका गीत गुन्जिएका छन् ।

छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ । त्यस्तै ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, हरिया तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अघ्र्य अर्पण गरिन्छ ।

छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ । अघ्र्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ । तराई–मधेशका बजारहरूमा अहिले पूजा सामग्री किनमेलको चहलपहल छ भने नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन् ।

छठ पर्वको अवसरमा सङ्घीय सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ भने मधेश प्रदेश सरकारले मङ्गलबार थप एक दिन बिदा दिने निर्णय गरेको छ ।