ब्लड क्यान्सर पीडित ढालबहादुर थापा (बासु) ।
हरिवन, ०८ कात्तिक – सर्लाहीको हरिवनमा ब्लड क्यान्सर पीडितलाई उपचारमा सहयोग गर्ने उद्देश्यले खेलिएको देउसीभैलोबाट तीन लाख बढी सङ्कलन गरिएको छ ।
हरिवन नगरपालिका–११, बासाटोल निवासी ढालबहादुर थापा (बासु) को उपचारमा सहयोग गर्ने उद्देश्यसहित हरिवनका स्थानीयले तिहारमा देउसीभैलो खेलेका थिए । देउसीभैलोबाट तीन लाख ३७ हजार २५० रुपियाँ सहयोग सङ्कलन भएको हरिवनका स्थानीय सुकदेव कार्कीले उज्यालो अभियानसँग बताए । कार्कीका अनुसार देउसीभैलोबाट सङ्कलन भएको रकम थापाको बैङ्क खातामा पठाइसकिएको छ ।
नेपाली सेनाको बहालवाला क्याप्टेनसमेत रहेका थापा ब्लड क्यान्सरबाट पीडित भएपछि छ महिनादेखि उपचाररत् छन् । उनको अहिले भारतको राजधानी नयाँदिल्लीस्थित राजिव गान्धी अस्पतालमा उपचार चलिरहेको श्रीमती सुबिना थापाले गुनासो गरेकी छन् ।
चिकित्सकले ब्लड क्यान्सर पीडित श्रीमानलाई अझै तीन महिनाजति अस्पतालमा भर्ना गरेरै उपचार गर्नुपर्ने बताएका श्रीमती सुबिनाले बताइन् । उपचार गर्दा गर्दै थापा परिवारको भएको सम्पत्ति सकिएपछि हरिवनका युवा, अगुवा, समाजसेवी, व्यवसायीलगायत मिलेर सामूहिक देउसीभैलो खेलेर तीन लाख बढी सङ्कलन गरेर प्रदान गरेका हुन् ।
ढालबहादुरकी श्रीमती सुबिनाले उपचारमा आर्थिक अभाव भइरहेकाले सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छन् ।