पत्थरकोट, ३१ असोज – जिल्लाकै विकट क्षेत्रस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोलामा चार महिनापछि बस गुड्न थालेको छ ।
सडक नपुगेको नारायणखोलामा पानी पर्न रोकिएसँगै खोलाको बाटो मर्मत गरेर बस संचालन गर्न थालिएको हो । वर्षायाम सुरु भएर खोलामा बाढी आउन थालेपछि गत मध्य जेठदेखि बस संचालन हुन छाडेका थिए ।
लालबन्दी १४ को वडा कार्यालय र बस व्यवसायीको समन्वयमा करिव एक हप्ता लगाएर जेसिबी प्रयोग गरी खोलामा बाटो बनाएपछि बस गुड्न थालेका लालबन्दी १४ का वडाध्यक्ष एवं बस व्यवसायी छेनामसिंह घिसिङले उज्यालो अभियानसँग बताए । लालबन्दी बजारबाट लखन्देखी खोला हुँदै सिन्धुलीको मरिणसम्म एउटा, लालबन्दी १४ नारायणखोला कामिटारसम्म एउटा र डाइनीखोला तर्फबाट नारायणखोलाकै मगनीदोभानसम्म एउटा गरी तीनवटा बस गुड्न थालेका वडाध्यक्ष घिसिङले बताए ।
प्रमुख चाड तिहारको मुखमा बस संचालन हुन थालेपछि नारायणखोलाका स्थानीय खुुसी छन् । अब सिन्धुलीको मरिण क्षेत्रका स्थानीयसमेत नारायणखोला भएर चल्ने बस चढेरै लालबन्दी बजारमा किनमेलका लागि आउने छन् ।