logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रदर्शनकारीद्वारा मलंगवास्थित कांग्रेस र एमालेको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी


  • उज्यालो अभियान

प्रदर्शनकारीले तोडफोडसहित फर्निचरहरु आगजनी गरेको सदरमुकाम मलंगवास्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालय । (तस्बिर : उज्यालो अभियान)

मलंगवा, २४ भदौ – आन्दोलनरत जेन-जी प्रदर्शनकारीहरुले मंगलबार बिहानै सदरमुकाम मलंगवास्थित सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा तोडफोड एवं आगजनी गरेका छन् ।

प्रदर्शनकारीले मलंगवा नगरपालिका-२ स्थित स्व. मनमोहन अधिकारी सामुदायिक भवनस्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड सहित कार्यालय भित्र रहेका फर्निचर जलाईदिएका छन् । त्यस्तै मलंगवा नगरपालिका-८ स्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड सहित आगजनी भएको जानकारी दिए । डीएसपी राईका अनुसार सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानहरुमा प्रदर्शन भईरहेको र अपृय घटना हुन नदिनका लागि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

त्यस्तै सर्लाहीको हरिवन, लालबन्दी, बागमतीसहित महेन्द्र राजमार्ग क्षेत्रमासमेत युवाहरुले नाराबाजी सहित जुलुस निकालिरहेका छन् । र्याली र जुलुसका कारण राजमार्ग अवरुद्ध बनेको छ । त्यस्तै नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत गम्हरियामा पनि स्थानीय युवाहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन् ।

आन्दोलनका कारण जिल्लास्थित अधिकांश मुख्य बजार तथा शहरका विद्यालयहरु समयअगावै बन्द गरिएको छ । अध्ययनका लागि विद्यार्थीहरु आएपनि विषम परिस्थितीका कारण शैक्षिक संस्थाहरु बन्द भएका हुन् ।

साेमबार दिउँसाे काठमाडाैंसहित मुलुकका विभिन्न शहरहरुमा जेन-जी युवाहरुकाे प्रदर्शनमा प्रहरीले चलाएकाे गाेली लागेर १९ जनाकाे मृत्यु भएकाे छ भने ३४७ जना घाइते भएका छन् ।

योपनि पढ्नोस्

जेन-जीकाे समर्थनमा स्थानीय युवाले गरे नवलपुरमा चक्काचाम