सफा खोलामा पुल नहुँदा पानीमा हेलिएर खोला तर्दै स्थानीय । छेउमा गत असोजको बाढीले बगाएको कल्भर्ड । (तस्बीर : उज्यालो अभियान)
ब्रह्मपुरी, ०३ फागुन – सर्लाहीको ब्रह्मपुरी गाउँपालिका र हरिपूर्वा नगरपालिकाको सीमामा पर्ने सपाहा (नख्खा समेत भनिने) नदीमा पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।
ब्रह्मपुरी-६, पिपरा र हरिपूर्वा-३, धनकौल गाउँलाई जोड्ने यो खोलामा वर्षेनि ह्यूम पाइप र कल्भर्ट निर्माण गर्ने गरिए पनि वर्षायाममा बाढी आएर बगाउने गरेको छ । ब्रह्मपुरी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा छ लाख ५० हजार रुपियाँ खर्चिएर निर्माण गरेको कल्भर्ट गत असोजको भीषण वर्षापछि आएको बाढीले बगाएको थियो ।
असोजको बाढीले बगाएको कल्भर्ट खोलाको बिचभागमा अलपत्र रहेको छ । हरिपूर्वा नगरपालिका क्षेत्रका स्थानीय सदरमुकाम मलङ्गवातर्फ जान तथा ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकाका स्थानीयले हरिपूर्वातर्फ आउजाउ गर्न सपाहा खोलाको बाटो प्रयोग गर्ने गरेका छन् ।
मोटरसाइकलमा राखेर स्थानीय हाटबजारमा तरकारी बिक्री गर्ने चन्द्रनगर गाउँपालिका-३, बडकुर्वाका किसान लालबाबु महतोले सपाहा खोलामा पुल नहुँदा असाध्य सास्ती खेप्नु परेको गुनासो गरे । बाढी आउनेयाममा बाटो नै अवरुद्ध हुने र अहिले हिउँदयाममा समेत पानीमा डुुबेर खोला वारपार गर्नुपरेको महतोले बताए ।
हरिपूर्वा बजारमा तरकारी बिक्री गर्न लैजाँदै गर्दा भेटिएका महतोले गत असोजमा खोलाको बिचमै मोटरसाइकल डुुब्दा मुस्किलले ज्यान बचाएको सुनाए । “खोलामा जहिल्यै पानी आइरहने भएकाले जवरजस्ती मोटरसाइकल वारपार गराउनुपर्ने बाध्यता छ,” महतोले भने,“ कहिलेकाँही मोटरसाइकलले तान्न सकेन भने बिचमै स्टार्ट बन्द हुन्छ, त्यो बेला असाध्य समस्या पर्छ ।”
जिल्लाको दक्षिण-पूर्वी भेगका स्थानीयले पूर्व–पश्चिम हुलाकी राजमार्गपछि सबैभन्दा धेरै सपाहा खोलाको बाटो प्रयोग गरेर सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्ने गर्छन । ब्रह्मपुरी गाउँपालिका-६, पिपराका स्थानीय रामकैलाश रायले पुल नहुँदा वर्षायाममा सपाहा खोलाको बाटो हप्तौँसम्म बन्द हुने गरेको बताए ।
खोलामा पुल नहुँदा सर्लाहीका आधा दर्जन बढी गाउँ र महोत्तरीका स्थानीयले समेत सास्ती खेप्नु परेको उनको भनाई छ । “बसन्तपुर, हरिपूर्वासहित महोत्तरीको विभिन्न गाउँ र ब्रह्मपुरी तथा चन्द्रनगर क्षेत्रका स्थानीयलाई खोलामा पुल नहुँदा असाध्य समस्या परिरहेको छ, रायले भने, “स्थायी हिसाबले पक्की पुल निर्माण भइदिए सारै सहज हुुन्थ्यो ।”
वर्षायाममा बाढी आएर बारम्बार ह्यूम पाइप र कल्भर्ट बगाएर हैरान पारेपछि ब्रह्मपुरी गाउँपालिकाले अब भने सफा खोलामा पक्की पुल नै निर्माणका लागि पहल थालेको छ । ब्रह्मपुरी गाउँपालिका-६, पिपराका वडाध्यक्ष हिरेन्द्रकुमार यादवले पुल निर्माणका लागि सङ्घ तथा प्रदेश सरकारमा पहल गरिरहेको जानकारी दिए ।
गाउँपालिकाले पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकिएको जनाएको छ । ह्यूम पाइप र कल्भर्टमा वर्षेनि बजेट खर्च गर्नुको साटो अब पक्की पुल नै बनाउने निष्कर्षमा पुुगिएको वडाध्यक्ष यादवले बताए ।