logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

माओवादी केन्द्र सर्लाहीद्वारा आन्दोलनको घोषणा


  • उज्यालो अभियान

बागमती, ०९ माघ – नेकपा माओवादी केन्द्र सर्लाहीले आन्दोलनको घोषणा गरेको छ ।

पार्टीका नेता समेत रहेका बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तानसहित नगरपालिकाका कर्मचारीमाथि वन मुद्दा दायर गर्ने तयारी गरिएको भन्दै त्यसको विरोधस्वरुप माओवादी केन्द्रले आन्दोलनको घोषणा गरेको हो । बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) सागरनाथ वन विकास परियोजनाको जग्गामा निर्माण गरिएको भन्दै नगरप्रमुख, उपप्रमुखलगायतमाथि वन मुद्दा चलाउने तयारी भइरहेको जानकारी प्राप्त भएको माओवादी केन्द्रका नेताले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएपछि करिव एक वर्षदेखि निलम्बनमा रहेका नगरप्रमुख र उपप्रमुखमाथि षडयन्त्रपूर्ण ढंगले फेरि वन मुद्दा दायर गर्न लागिएको भन्दै माओवादी केन्द्र सर्लाहीले अब संघर्षमै उत्रने चेतावनी दिएको हो । माओवादी केन्द्रले हिजो जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र सागरनाथ वन विकास परियोजनामा ज्ञापन–पत्र बुझाउँदै राजनीतिक प्रतिसोध साँधेर अन्यायपूर्ण व्यवहार गरिए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो ।

सो पार्टीले झुटा वन मुद्दा लगाएर जनप्रतिनिधि तथा कर्मचारीलाई फसाउने र भूमिहिन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई विस्थापित गर्ने प्रयास तत्काल बन्द गर्न माग गरेको छ । पार्टीले राखेको माग ५ दिनभित्र पूरा नभए माघ १३ गते बिहान ११ बजे मोटरसाइकल र्यालीसहित विरोध प्रदर्शन र डिभिजन वन कार्यालय लालबन्दीमा धर्ना दिने, माघ १४ गते बेलुका मसाल जुलुस निकाल्ने, माघ १५ गते बागमती नगरपालिकाको पुतली चोकमा २ घण्टा चक्काजाम र जनसभा गर्ने तथा माघ १६ गतेदेखि अनिश्चितकालिन चक्काजाम तथा जिल्ला बन्द गर्ने ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

पार्टीका जिल्ला इन्चार्ज अच्यूतम काफ्ले, नेता प्रल्हाद बुढाथोकीसहित माओवादी केन्द्र सर्लाहीका नेताले आज यसै माग र आन्दोलनको कार्यक्रमबारे जनकपुर पुगेर प्रदेश सरकारका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने तयारी गरेका छन् ।