कविलासी, ०९ पुस – सर्लाहीको कविलासी नगरपालिकाले अढाई वर्षमा गरेका कामको उपलब्धि आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
मेयर ब्रहमदेव रायले आफूूहरु निर्वाचित भएर आएपछि सडक, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा गरेको प्रगति सार्वजनिक गरेका हुन् । उनले घरघरमा सामाजिक सुरक्षा भत्ता पुुर्याउने, बर्थिङ सेन्टर निर्माण, विभिन्न भित्री सडकको कालोपत्रे तथा ढलान, आवश्यक कर्मचारी नियुक्तिलगायतको महत्वपूर्ण र उपलब्धीमूलक काम भएको दावी गरेका छन् ।
उनले २०७९-०८० को बजेटदेखि नगरपालिकाको भवन तयार भइरहेको र आगामी चैतमा सुविधासम्पन्न नगरपालिकाको भवनमा कार्यालय सार्ने तयारी रहेको उल्लेख गरे । उनले मदनपुर, हेमपुरलगायतका स्थानमा ठेकेदारको बद्मासीले सडक कालोपत्रेको काम पूरा गर्न चूूनौति भइरहेको गुनासो पोखे ।
पत्रकार सम्मेलनमा नगर उपप्रमुख पुनम कर्णले कर्मचारीको अभावमा न्यायीक समितिको काम अघि बढाउन नसकेको दुःखेसो गरिन् । उनले नगरभित्र विकासका काम देखिँदै गएपनि कर्मचारीले उपप्रमुख भएकै कारण आफूूसँग कुनै सोधखोज र समन्वय नै नगरेको गुनासो गरेकी छन् ।
नगरपालिकाले अढाई वर्षमा गरेका मुख्य–मुख्य उपलब्धी सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतो, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो ।