हजारबिघा, ०६ पुस – सर्लाहीको हजारबिघामा एक शिक्षकले आफ्नो जन्मदिनको अवसर पारेर दलित बालबालिकालाई सहयोग गरेका छन् ।
हरिपुर नगरपालिका–१, हजारबिघास्थित पाँचकुमार रामअवतार लक्षिया माध्यमिक विद्यालयका शिक्षक टेकबहादुर थापा (अर्जुन) ले आफूू ५५ औँ वर्षमा प्रवेश गरेको अवसरमा आफूले अध्यापन गराउने विद्यालयका १० जना दलित बालबालिकालाई हिजो विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरेका हुन् । थापाले पासवान र चमार गरी बाल विकास कक्षाका ४ जना, कक्षा २ का ५ जना र कक्षा ३ का एक जना विद्यार्थीलाई सिलाएर एक/एक जोर विद्यालय पोसाक, कापी र पेन्सील हस्तान्तरण गरेका छन् ।
मधेश प्रदेशसभा सदस्य विमला अन्सारी, हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापा, विद्यालयका शिक्षकलगायतको उपस्थितिमा दलित बालबालिकालाई उक्त सहयोग प्रदान गरेको शिक्षक थापाले बताए । सामाजिक सेवा र सद्भावको उद्देश्यले यस प्रकारको कार्यक्रम गरेको उनले बताए ।