logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुुई जना घाइते


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी, ०५ पुस – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका–६, स्थित फुटबल मैदान अगाडि गएसाँझ ६ बजेतिर भएको दुर्घटनामा नामथर, वतन खुल्न नसकेको पुरुषको मृत्यु भएको हो । लालबन्दीबाट परवानिपुरतर्फ जाँदै गरेको बा ९४ प ९२३४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ५० वर्षका तराई मुलको जस्तो देखिने पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।

दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१६, परवानिपुरका २१ वर्षीय विनोद कुमार श्रेष्ठ र मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २७ वर्षीय निरज लामा घाइते भएका छन् । घाइते दुवैलाई लालबन्दीमा प्राथमिक उपचार गरी काठमाडौं रेफर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

मृतक पुरुषको परिचय खुलाउन सोधखोज तथा अन्य प्रहरी युनिटमा परिपत्र गरिएको लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । म्याक्स अस्पताल लालबन्दीमा रहेको मृतकको शव अहिले बिहान पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउन लागिएको प्रहरी निरीक्षक पाठकले बताए ।