logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमतीमा जिर्ण अवस्थाको क्षेत्रीय बाटो कालोपत्रे भएपछि सहज, स्थानीय खुसी


  • उज्यालो अभियान

बागमती, ०४ पुस  – सर्लाहीको बागमतीमा लामो समयदेखि जिर्ण अवस्थामा रहेको क्षेत्रीय सडक कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् ।

बागमती नगरपालिकाले पूर्व–पश्चिम राजमार्गस्थित पुतली चोकदेखि दक्षिणतर्फ वडा नं. ४ र १२ मा पर्ने क्षेत्रीय सडक कालोपत्रे गरेको हो । सो सडक अन्तर्गत रेल्वे पुुलदेखि सुकुुम्वासी बस्ती रहेको क्षेत्र र जिरायत बजार आसपासमा सडकको अवस्था अत्यन्त खराब रहेको थियो ।

वडा नं. ४, ११ र १२ को सडक कालोपत्रे योजना अन्तर्गत १८ करोड रुपियाँ बजेट विनियोजन गरिएको र सोही बजेटबाट क्षेत्रीय सडक कालोपत्रे गरिएको बागमती नगरपालिकाका सव–इन्जिनियर सुजन बडालले जानकारी दिए । बडालका अनुसार बेश र सवबेशको काम उपभोक्ता समितिमार्फत तथा कालोपत्रेको काम ठेकेदारबाट गराइएको हो ।

पाँच वर्षअघि नै कालोपत्रे भएको क्षेत्रीय सडकमा छोटो अवधिमै पिच उप्किएर अत्यधिक खाल्डाखुुल्डी परेको थियो । यसअघि पातलो कालोपत्रे (ओटासिल) गरिएको थियो । त्यस ठाउँमा अहिले सडक फराकिलो पारेर पहिलेको तुलनामा उच्चस्तरीय (अस्पाल्ट) प्रविधिबाट कालोपत्रे गरिएको सव–इन्जिनियर बडालले बताए ।

यो कालोपत्रे पहिलेको तुलनामा टिकाउ हुने प्राविधिकले बताएका छन् । कार्यवाहक नगप्रमुखको समेत जिम्मेवारीमा रहेका बागमती नगरपालिका ४ का वडाध्यक्ष कृष्णकुमार लामाले नगरभित्र अधिक प्रयोग हुनेमध्ये प्रमुख मार्गका रुपमा रहेको क्षेत्रीय सडक कालोपत्रे भएसँगै आवतजावतमा सहज भएको बताए ।

नगरपालिकाले विनियोजन गरेको १८ करोड रुपियाँ बजेटबाट पुतली चोकदेखि उत्तरतर्फको भित्री सडक र रेल्वे पुलदेखि बागमती माछापोखरीसम्म पुुग्ने सडक समेत कालोपत्रे हुने बागमती नगरपालिकाले जनायो ।

क्षेत्रीय सडक अन्तर्गत रेल्वे पुलदेखि जिरायत बजारसम्मको सडक धमाधम कालोपत्रे भइरहेकोमा रेल्वे ट्रयाकदेखि उत्तरतर्फ पुतली चोकसम्मको सडक केही समयअघि मात्रै कालोपत्रे गरिएको सव–इन्जिनियर बडालले जानकारी दिए ।