लालबन्दी, ०४ पुस – लालबन्दी प्रहरीले एउटा ट्रकसहित २२० बोरा अवैध भारतीय मल बरामद गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडि चेकजाँचका क्रममा बागमती प्रदेश ०३–००१ ख १६०० नम्वरको ट्रकबाट कुनै बिलबिजक नभएको शंकास्पद मल बरामद भएको हो । बरामद भएको मल आवश्यक कारवाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
नेपाल सरकारले अनुदानमा बाँड्ने मल नपाउँदा सर्लाहीको दक्षिणीवर्ती सीमा क्षेत्रका स्थानीयले यही भारतीय मल ल्याएर खेतिपाती गर्ने गरेका छन् ।
उत्तरी भेगमा पनि कम गुणस्तरको यही भारतीय मल आइपुुग्ने गरेको छ । कृषि सामग्री तथा साल्ट ट्रेडिङले बाँड्ने अनुदानको मल नपाउँदा किसानले बाध्य भई भारतीय मल प्रयोग गर्नुपर्ने बाध्यता छ ।