logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चल्यो इन्दुशंकर चिनी मिल


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिवन, २७ मंसिर – सर्लाहीको हरिवनस्थित इन्दुुशङ्कर चिनी उद्योगले आजबाट उखु क्रसिङ सुरु गरेको छ ।

आज बिहान नौ बजेर पाँच मिनेटदेखि उद्योग सञ्चालन गरिएको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिए । उद्योग संचालन गर्न मङ्सिर १८ गते नै डोङ्गा पूजा अर्थात् चिनी उद्योग सञ्चालन गर्नुअघि गरिने पूजा सम्पन्न गरिएको थियो ।

विगतका वर्षमा सबैभन्दा पहिले सञ्चालनमा आउने इन्दुुशङ्कर चिनी उद्योग यो वर्ष भने महागढिमाई मेलाका कारण मजदुर र उखुको अभाव हुने भन्दै ढिलो गरी सञ्चालन गरिएको हो । इन्दुुशङ्करले यो वर्ष किसानसँग ३० लाख क्विन्टल उखु खरिद गरेर क्रसिङ गर्ने लक्ष्य लिएको छ । तर पछिल्ला वर्षमा उखु खेती नै घटेकाले लक्ष्य अनुसार उखु पाउनै मुस्किल परिरहेको उद्योगका उखु प्रवन्धक रजकले बताए । उनका अनुसार उद्योगका दुुईवटा मिलमध्ये अहिले ठूलो मिलमात्रै सञ्चालन गरिएको छ ।

उद्योगसँग दैनिक ३५ हजार क्विन्टल र १५ हजार क्विन्टल उखु क्रसिङ गर्ने दुुईवटा मिल रहेका छन् । पर्याप्त उखुु आउन थालेपछि दुुईवटै मिल सञ्चालन गरिने उखु प्रवन्धक रजकको भनाई छ ।

सर्लाहीमा तीनवटा चिनी उद्योगमध्ये महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल केही साताअघि देखि नै सञ्चालनमा आइसकेका छन् । सरकारले यो वर्षका लागि गत मङ्सिर १३ गते उखुको मूूल्य समेत निर्धारण गरिसकेको छ ।

यो वर्ष उद्योगले उखु किसानलाई प्रतिक्विन्टल ५८५ रुपियाँ र सरकारले अनुदानबापत प्रतिक्विन्टल ७० रुपियाँ उपलब्ध गराउने निर्णय भएको हो । त्यसअनुुसार किसानले एक क्विन्टल उखुु बराबर ६५५ रुपियाँ प्राप्त गर्ने छन् ।