मलंगवा, २७ मंसिर – सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलंगवा र इलाका प्रशासन कार्यालय हरिवन दुवै ठाउँबाट राहदानीको सेवा पूर्णरुपमा सूचारु भएको छ ।
आजबाट दुुबै ठाउँमा पासपोर्टको काम नियमित भइसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । राहदानी वितरणका लागि प्राविधिक समस्या उत्पन्न हुँदा देशभरमा झैँ सर्लाहीमा पनि मंसिर ६ गतेदेखि पासपोर्टको काम रोकिएको थियो । केही जिल्लाहरुमा दुुई/चारदिन अघिदेखि सेवा सूचारु भएकोमा सर्लाहीसहितका अन्य जिल्लामा भने आजबाट सेवा सूचारु भएको हो ।
तीन सातासम्म पासपोर्टको काम रोकिँदा सेवाग्राही समस्यामा परेका थिए । धेरै दिनमा आजबाट सेवा सूचारु भएसँगै जिल्ला प्रशासन कार्यालय मलंगवा र इलाका प्रशासन कार्यालय हरिवन दुवै ठाउँमा राहदानी शाखातर्फ सेवाग्राहीको भिड देखिन्थ्यो ।
इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापाले धेरै दिनमा सेवा सूचारु भएकाले पासपोर्टका लागि कार्यालय खुुल्ने समय अपरान्ह ४ बजेसम्म नै सेवाग्राही लाइनमा बसेका बताए । उनका अनुसार ५÷७ जना सेवाग्राहीलाई कार्यालय समयभित्र काम गर्न नभ्याएपछि घर फर्काइएको छ ।
सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलंगवा तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयको नागरिकता फाँटमा प्रायः सेवाग्राहीको भिड नै हुने गरेको छ ।
इलाका प्रशासन कार्यालय बरहथवामा अहिलेसम्म राहदानी सेवा शुुभारम्भ नै गरिएको छैन् । त्यस भेगका सेवाग्राही मलंगवा र हरिवनमा सेवा लिन पुुग्ने गरेका छन् ।