हरिपुर, २७ मंसिर – नेपाल पत्रकार महासंघ सर्लाही शाखाको निर्वाचन अन्तर्गत दुई पदाधिकारी र ७ जना सदस्य निर्विरोध चयन भएका छन् ।
पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ सर्लाही शाखा कार्य समितिसहित प्रदेश र केन्द्रीय कार्य समिति चयनका लागि भोली हरिपुरस्थित रेडक्रस भवनमा मतदान हुँदैछ । त्यसअघि हिजो हरिपुरमा नै जिल्ला शाखाको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो ।
उम्मेदवारी दर्ताका क्रममा एकल मनोनयन दर्ता भएका दुई पदाधिकारी र ७ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध हुनेमा खुल्ला सह–सचिवमा जनार्जन खत्री र समावेशी सह–सचिवमा लक्ष्मण राय यादव रहेका छन् ।
त्यसैगरी जिल्ला सदस्य (खुल्ला) तर्फ अमलेश शर्मा र राधेश्याम कुशवाहा, आदिवासी जनजाति सदस्यमा रीना आले, मधेशी सदस्यमा निरज कुमार यादव, दलित सदस्यमा बुद्धबहादुर विश्वकर्मा, महिला सदस्यमा मनिषा कुमारी कुशवाहा र अन्य समावेशी सदस्यमा बच्चेलाल पण्डित निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
महासंघको केन्द्रीय परिषद् सदस्यमा शंकर श्रेष्ठ र सत्यप्रकाश यादवको उम्मेदवारी पर्दा केन्द्रीय परिषद् सदस्य महिलामा पुस्तिका केसी र प्रदेश परिषद् सदस्यमा प्रकाश मैनाली निर्विरोध चयन भएका छन् । महासंघको जिल्ला अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा भने एक भन्दा बढीको उम्मेदवारी परेपछि भोली मतदान हुने भएको छ ।
महासंघको सर्लाही अध्यक्षमा ओमप्रकाश ठाकुर र रामगोविन्द राय यादवको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा मनोज यादव (ख) र मुकेश झा, उपाध्यक्ष (महिला) तर्फ मीरा रानी, बन्दना झा र सरिता सापकोटा, सचिवमा कृष्णा सिंह, सिंहबहादुर थापा (श्रवण) र सोम दियालीको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा घनश्याम बलम्पाकी र घनश्याम सिंहले उम्मेदवारी दिएका छन् । जिल्लाका यि पदाधिकारी चयनका लागि भोली बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुने छ ।
मतदानमा नेपाल पत्रकार महासंघ सर्लाही शाखामा सदस्य रहेका जिल्लाभरका ६२ जना पत्रकारले मतदान गर्न पाउने छन् ।
भोली सर्लाहीसहित देशैभर एकसाथ हुने पत्रकार महासंघको निर्वाचनमा प्रत्येक सदस्यले जिल्ला, प्रदेश र केन्द्रीय कार्य समितिलाई मतदान गर्न पाउने महासंघको बिधानमा उल्लेख छ ।