हरिवन, २५ मंसिर – सर्लाहीको हरिवनमा बालिकालाई जवरजस्तीकरणीको प्रयास गर्ने एक युवक पक्राउ परेका छन् ।
प्रहरीले हरिवन नगरपालिका–११, का २० वर्षीय अरवाज शेखलाई नियन्त्रणमा लिएको हो । शेखले हिजो मध्यान्हपख हरिवन नगरपालिका–४ पटौना र ८ चापिनीको सीमामा पर्ने चापिनी खोलाको पुलमा ७ वर्षकी एक बालिकामाथि जवरजस्तीकरणीको प्रयास गरेका थिए ।
एकान्त ठाउँमा पर्ने चापिनी खोलाको पुुलमा खेलिरहेकी बालिकालाई डुुल्दै हिँडेका शेखले पुलमुनी लगेर करणीको प्रयास गरेका थिए । बालिकाले तत्कालै प्रतिकार गरेर चिच्याएपछि गाउँहरु आएकाले उनीमाथि करणी हुन नपाएको इलाका प्रहरी कार्यालय हरिवनले जनायो ।
घटना लगत्तै शेखलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङले जानकारी दिए । शेखविरुद्ध जवरजस्तीकरणी उद्योग मुद्दामा कारवाही अघि बढाइने प्रहरी निरीक्षक तामाङले बताए ।
प्रहरीका अनुसार शेख यसअघि पनि चोरीको घटनामा पक्राउ परेर छुटेका थिए ।