हरिपुर, २५ मंसिर – सर्लाहीको हरिपुर नगरपालिकामा आज पनि स्थानीय बिदा दिइएको छ ।
गढिमाई मेला महोत्सवको अवसरमा नगरपालिकाले आज मंगलबार पनि स्थानीय बिदा दिएको हो । बाराको बरियारपुरमा प्रत्येक ५ वर्षमा एक महिनासम्म लाग्ने गढिमाई मेला महोत्सव तथा आफ्नै पालिकाभित्र पनि दुुई स्थानमा गढिमाई पूजा र महोत्सव लागिरहेको भन्दै हरिपुरले हिजो र आज दुुई दिन नै स्थानीय बिदा दिएको हो ।
हरिपुरमा आज नगरपालिका, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायत नगरपालिका मातहतका कार्यालय खुुल्ने छैनन् ।
गढिमाई मेला महोत्सवको अवसरमा अस्ती आइतबार प्रदेश सरकारले नै बिदा दिएको थियो भने हिजो समेत सर्लाहीको हरिपुरसहित बरहथवा, कविलासीलगायतका अन्य केही पालिकाले पनि स्थानीय बिदा दिएका थिए ।
पछिल्लो समय स्थानीय तहले मनलाग्दी स्थानीय बिदा दिन थालेको भन्दै आलोचना हुने गरेको छ ।