बलरा, २० मंसिर – सर्लाहीको बलरामा आयोजित दुई दिने जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलाको समापन गरिएको छ ।
बलरा नगरपालिका–८, स्थित जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियामा आयोेजित विज्ञान प्रदर्शनी मेलामा उत्कृष्ट भएका विद्यालयलाई गएसाँझ प्रमाण–पत्र तथा पुरस्कार वितरण गर्दै मेलाको समापन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका सुनिलकुमार कुशवाहाले जानकारी दिए । युनेस्कोसँग सहकार्य गरी बलरा नगरपालिकाले आयोजना गरेको विज्ञान प्रदर्शनी मेलामा राखिएका विज्ञान तथा प्रविधिका विभिन्न स्टलमध्ये उत्कृष्ट विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको छ ।
माध्यमिक तहतर्फ लालीगुरासँ आवासीय विद्यालय ईश्वरपुर नगरपालिका–६, बयलवास पहिलो, जनता माध्यमिक विद्यालय कौडेना गाउँपालिका–३, पर्सा दोस्रो र चक्र जनता सहीद गङ्गा माध्यमिक विद्यालय बरहथवा नगरपालिका–५, तेस्रो भएका छन् । त्यस्तै जनता माध्यमिक विद्यालय गोडैता नगरपालिका–५, रामवन र रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय बलरा नगरपालिका–४, ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । पहिलो, दोस्रो र तेस्रो तथा सान्त्वना स्थान हाँसिल गर्ने विद्यालयलाई क्रमश : ३० हजार, २५ हजार, २० हजार र १० हजार नगद पुरस्कारसहित प्रमाण–पत्र प्रदान गरिएको छ ।
यसैगरी आधारभूत विद्यालयतर्फ जनज्योति नमूना माध्यमिक विद्यालय लालबन्दी नगरपालिका–९, बस्तीपुर पहिलो, श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय बागमती नगरपालिका–११, कर्मैया दोस्रो, सगरमाथा आधारभूत विद्यालय मलङ्गवा नगरपालिका–१०, तेस्रो तथा नवजनजागरण माध्यमिक विद्यालय बागमती नगरपालिका–८, शङ्करपुर र श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालय मलङ्गवा नगरपालिका–९ ले सान्त्वना स्थान हाँसिल गरेका छन् । आधारभूततर्फ पहिलो, दोस्रो र तेस्रो तथा सान्त्वना स्थान हाँसिल गर्ने दुई विद्यालयलाई क्रमशः १५ हजार, १० हजार, सात हजार र चार हजार नगदसहित प्रमाण–पत्र वितरण गरिएको छ ।
पुरस्कृत विद्यालयलाई बलरा नगरपालिकाका प्रमुख रामाशङ्कर प्रसाद कुशवाहा, राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुन र युनेस्कोका सहायक महासचिव रामेश्वरप्रसाद यादवले पुरस्कार वितरण गरेका छन् ।
“विज्ञान र नवीनतम प्रविधिको यात्रामा सबैको साथ र सहभागिता” भन्ने मूल नाराका साथ आयोजित विज्ञान प्रदर्शनी मेलाको मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गरेकी थिईन् ।