मलंगवा, १८ मंसिर – पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सर्लाहीको सदरमुकाम मलङ्गवा र मुसैलीमा सडक कालोपत्रेको काम अधुरो बसेको छ ।
मलङ्गवामा निकै सुस्त गतिमा काम भइरहे पनि मुसैलीमा काम अघि बढ्नै सकेको छैन् । हुलाकी सडकको सर्लाहीखण्डमा बाँके खोलादेखि बागमतीसम्म अन्यत्र सडक कालोपत्रे भएपनि मलङ्गवाको मुख्य बजार क्षेत्र र मुसैलीमा मात्रै काम हुन नसकेको हो ।
मलङ्गवामा राजश्री सिनेमा चोकदेखि टावर चोकसम्मको सडक कालोपत्रे हुुन बाँकी छ । हिउँद लागेसँगै स्थानीयले कच्ची सडकका कारण धुलोको सास्ती खेप्न थालेका छन् ।
स्थानीय वासिन्दा एवं नागरिक अगुुवा शिवचन्द्र चौधरीले बारम्बार घच्घच्याउँदा पनि सडक कालोपत्रे हुन नसकेको दुःखेसो गरेका छन् । करिव दुुई किलोमिटर सडक कालोपत्रे हुन नसकेपछि धुलोले असाध्य समस्या गरेको भन्दै स्थानीयले चक्काजाम गर्ने, टायर बालेर प्रदर्शन गर्ने जस्ता दबाबमूूलक कार्यक्रम गर्दै आइरहेका छन् ।
सडक कालोपत्रे गराउन भनी जनप्रतिनिधि, सुरक्षा अधिकारी, सडक कार्यालयका प्रमुखलगायतले बारम्बार अनुमगन गरेका छन् । त्यस्तै मलङ्गवाकै वडा नं. ७ स्थित मुुसैलीमा पनि ‘साइड क्लियर’ हुन नसक्दा हुलाकी सडक धुलाम्मे र जिर्ण अवस्थामा रहेको छ ।
विवादका कारण यहाँ ठेकेदारले काम गर्नै मुस्किल परेको गुनासो गरिरहेका सडक डिभिजन कार्यालय जनकपुुरले जनायो । मुसैलीका स्थानीय फेकन महतोले केही मिटर सडक मात्रै कालोपत्रे नहुँदा धुलोले असाध्य समस्या भइरहेको गुुनासो गरेका छन् ।
हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्ण महतोले मलङ्गवा र मुसैलीमा यसै वर्षभित्र सडक कालोपत्रे पूूरा हुने जानकारी दिए । स्थनीयले भने अब चिसोयाममा तापक्रम नपुुग्ने भएकाले तत्काल कालोपत्रेको काम हुनेमा आशङ्का गरेका छन् ।
मलङ्गवातर्फको ठेकेदारले हाल पर्सा गाउँपालिका क्षेत्रको सडकमा काम गरिरहेको र मुसैलीमा स्थानीयबाटै अवरोध भइरहँदा काम गर्न गाह्रो परेको उनले बताए । आयोजना प्रमुख महतोले धान भित्र्याउने काम र गढिमाई मेलामा मजदुर ब्यस्त रहेकाले यो महिनापछि सडक कालोपत्रेको बाँकी काम अघि बढ्ने दावी गरेका छन् ।