कार्यक्रम आयोजना हुने विद्यालय ।
बलरा, १८ मंसिर – सर्लाहीको बलरामा आजबाट दुई दिने जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला सुरु हुँदैछ ।
बलरा नगरपालिका–८, मा रहेको जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियामा विज्ञान प्रदर्शनी मेला सुरु हुन् लागेको हो । आज र भोली दुुई दिन चल्ने विज्ञान प्रदर्शनी मेलाको संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गर्दै छिन् । मेलाको उद्घाटन गर्न मन्त्री भट्टराई हिजै राति सर्लाही आइसकेको बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशवाहाले जानकारी दिए ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार, काठमाडौंसँगको सहकार्यमा बलरा नगरपालिकाले जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गरेको हो । विद्यार्थीको रचनात्मकता, वैज्ञानिक सोच र नवीनतम आविष्कारको विकास र विस्तार गर्ने उद्देश्यले दुई दिने आधारभूत तथा माध्यमिक तहको जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गरिएको बलरा नगरपालिकाले जनाएको छ ।
प्रदर्शनीमा विज्ञान तथा आविष्कारका स्टल राख्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जिल्लाभरबाट विद्यालय छनौट गरेको छ ।
प्रदर्शनीमा स्टल राख्नका लागि १४ स्थानीय तहका ३७ वटा विद्यालय छनौटमा परेका छन् । मेलामा उत्कृष्ट ठहर हुने विद्यालयलाई पुरस्कृत गरिने छ ।
माध्यमिक तहतर्फ प्रथम हुने विद्यालयलाई ३० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार र अन्य दुईवटा विद्यालयलाई १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै आधारभूत तह अन्तर्गत प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई सात हजार र अरु दुईवटा विद्यालयलाई चार हजारको दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
विज्ञान प्रदर्शनी मेला सञ्चालन गर्न बलरा नगरपालिकाले १५ लाख र युनेस्कोले पाँच लाख रुपियाँ बजेट बिनियोजन गरेका छन् ।
विज्ञान प्रदर्शनी मेलाका लागि जिल्लाभरका विद्यार्थी आज बलरा पुग्दै छन् ।