हरिवन, १७ मंसिर – स्वास्थ्य क्षेत्रमा सम्पादित कामको मूल्याङ्कनका आधारमा मधेश प्रदेशभरमा लगातार दोस्रो वर्ष पहिलो बनेको हरिवन नगरपालिकाले आज आफ्ना स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य सेवा कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरी निर्धारित सूचकहरुको आधारमा प्रदेशभरका १३६ पालिकामध्ये हरिवन नगरपालिका पहिलो बनेको छ । हरिवन नगरपालिकाले स्वास्थ्यतर्फ अघिल्लो आर्थिक वर्ष २०७९/८० पनि मधेश प्रदेशमा पहिलो स्थान हाँसिल गरेको थियो ।
लगातार दुई वर्षसम्म नगरपालिका स्वास्थ्य क्षेत्रमा प्रदेशमै पहिलो भएको भन्दै आज नगरपालिका कार्यालयमा एक कार्यक्रमका बिच नगरप्रमुख रमेश बुुढाथोकी (कमल) को अध्यक्षता तथा सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा पालिकालाई प्रदेशमै पहिलो बनाउन अहम् भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक एवं हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिए ।
हरिवन १ देखि ९ सम्मका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सम्मान–पत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
पालिकाले सञ्चालन गरेको खोप कार्यक्रम, मातहतका स्वास्थ्य संस्थाबाट प्रदान गरिएको स्वास्थ्य सेवा, स्वास्थ्य संस्थामा भएको सुत्केरीको दर, कुपोषित बालबालिका, क्षयरोग तथा एजआइभी सङ्क्रमित बिरामीको अवस्था र उपचारको स्थिति, सम्वन्धित निकायमा समयमै विवरण पठाएको लगायतलाई आधार मानेर पालिकाहरुको स्वास्थ्य कार्यक्रमको अवस्था मुल्याङ्कन हुने नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।