logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सुनकोशीको पानी लखन्देहीमा झार्न निरन्तर पहल


  • उज्यालो अभियान

पत्थरकोट, १० मंसिर – सर्लाहीको लालबन्दी नगरपालिकाले सुनकोशी नदीको पानी लखन्देही खोलामा झार्नका लागि निरन्तर पहल गरिरहेको छ ।

निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सन आयोजना अन्तर्गतको पानी बागमती नदीमा खसाल्दा सर्लाही, महोत्तरी र धनुषा जिल्लाको उत्तरी चुरेभेगमा सिँचाई सुविधा नपुग्ने भएकाले उक्त पानी पत्थरकोटस्थित लखन्देही खोलामा खसाल्नुपर्ने माग लालबन्दी नगरपालिकाको छ । नगरपालिकाका जनप्रतिनिधिलगायतले यही माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेरै दुुईपटक ज्ञापन–पत्र बुुझाइसकेका छन् ।

मरिण–लखन्देही डाइभर्सन योजनाको रुपमा काम अघि बढाउनुपर्ने माग आफूहरुको रहेको लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले जानकारी दिए । मरिणतर्फबाट लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित लखन्देही खोलासम्म पानी ल्याउन भन्दै विज्ञसहितको टोलीले गएको बुधबार मात्रै स्थलगत अनुगमन गरेर फर्किएको छ ।

सुनकोशीको पानी लखन्देहीमा मिसाउन सके अग्लो भूू–भागमा पर्ने सर्लाहीको चुरेक्षेत्रस्थित हरिवन नरपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, महोत्तरीको बर्दिवास नगरपालिका र धनुुषाको मिथिला नगरपालिकाको करिव ६० हजार हेक्टर जग्गामा सिँचाई सुविधा पुु¥याउन सकिने विद्युत्विज्ञ चेतप्रसाद बरालले बताए । सिन्धुलीको कमलामाई नगरपालिकास्थित कुसुमटारबाट निकास हुने सुुनकोशीको पानी पाइपलाइनमार्फत मरिण गाउँपालिकास्थित खयरसालसम्म ल्याएर त्यहाँ ४५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने अवस्था रहेको विद्युत्विज्ञ बरालको भनाई छ ।

खयरसालमा विद्युत् उत्पादन गरेर बाहिरिएको पानी करिव सात किलोमिटर सुुरुङमार्फत लालबन्दी नगरपालिका–१४, नारायणखोलास्थित डाइनी खोला हुुँदै लखन्देही खोलामा ल्याउन सक्ने अवस्था रहेको विज्ञले बताएका छन् । त्यसरी लखन्देहीमा मिसाइएको पानीले पत्थरकोटमा पुनः १५ मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको विज्ञ बरालको भनाई छ ।

लालबन्दी नगरपालिकाले यसै सम्भावनालाई मध्यनजर गरी विज्ञसहित सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महिन्द्रराय यादव, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठलगायतको उपस्थितिमा गत बुधबार मरिण गाउँपालिकास्थित खयरसालसम्मकै सम्भावित आयोजना क्षेत्रको निरीक्षण कार्य गराएको हो । लालबन्दीबाट गएको टोलीले मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान ‘प्रख्यात’ लगायतलाई भेटेर सुनकोशीको पानी मरिण, खयरसाल हुुँदै लखन्देहीसम्म ल्याउनका लागि समन्वय गरिदिन आग्रह गरेको छ ।

लालबन्दी नगरपालिका १४ का वडाध्यक्ष छेनामसिंह घिसिङले लखन्देहीसम्म पानी खसाल्ने विषयमा मरिण गाउँपालिका पनि सकारात्मक देखिएको र संयुक्त रुपमै पहलअघि बढाउने सहमती भएको बताए ।