मलंगवा, ०८ मंसिर – सदरमुकाम मलङ्गवामा जिल्ला प्रशासन कार्यालयको भवन तयार भएको छ ।
पहिले कार्यालय रहेकै स्थानमा सुविधा सम्पन्न साँढे तीन तले भवन निर्माण पूरा हुन लागेको हो । केही समयभित्रै औपचारिक उद्घाटन गरेर भवन प्रयोगमा ल्याउने तयारी रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
यसअघिको भवन अत्यन्त जिर्ण र साँघुरो भएपछि जिल्ला प्रशासन कार्यालयको सुविधा सम्पन्न नयाँ भवन तयार गरिएको हो । भवन निर्माण हुन्जेलसम्म जिल्ला प्रशासन कार्यालय प्राविधिक कार्यालयको भवनबाट संचालनमा रहेको छ ।
नयाँ निर्माण भएको जिल्ला प्रशासन कार्यालयको भवनबाट केही महिनाअघि देखि नै राष्ट्रिय परिचयपत्रको काम हुँदै आएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भवन तयार हुनै लागेकाले अब कार्यालयको सम्पूर्ण सेवा यहीँबाट संचालनको तयारी भइरहेको जानकारी दिए ।
यसअघि अत्यन्त साँघुरो र जिर्ण भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राही दुवैलाई अप्ठेरो परिरहेको अवस्थामा अब सुविधायुक्त पर्याप्त कोठा रहेका साँढे तीन तले भवन निर्माण भएसँगै सेवा आदानप्रदानमा सहजता हुने प्रमुख जिल्ला अधिकारी अधिकारीले विश्वास व्यक्त गरे ।
कार्यालयले ठेकेदारलाई केही समय म्याद थप गरेर भवन निर्माणको काम पूरा गराएको हो ।