logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

‘दानविर’ युवा कृष्ण चौधरी : जसले वृद्धाश्रममा २ वर्ष भोजनको घोषणा गरे


  • उज्यालो अभियान

‘दानविर’ युवा कृष्ण चौधरी दम्पति तथा उनका मातापितालाई कदर-पत्र सहित दोसल्ला ओडाएर सम्मान गर्दै मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय । (तस्बिर : उज्यालो अभियान)

जुटपानी, २३ कात्तिक – सर्लाहीको हरिवन नगरपालिका-४, तीनघरे निवासी एक ‘दानविर’ युवाले वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई २ वर्षसम्म भोजनका लागि सहयोगको घोषणा गरेका छन् ।

हाल भारतमा व्यवसाय गर्दै आईरहेका कृष्ण चौधरीले लालबन्दी नगरपालिका-२ जुटपानी स्थित पद्म-भुवनेश्वरी नमूना वृद्ध सेवा आश्रममा आश्रीत वृद्धवृद्धा सहित सम्पूर्णलाई दुई वर्षसम्म भोजनको घोषणा गरेका हुन् । शुक्रबार साँझ वृद्धाश्रम परिवारले आश्रममा २ वर्षसम्मका भोजनकर्ता कृष्ण चौधरी दम्पति तथा उनका बुबा रामदिनेश चौधरी, आमा विन्दु देवी तथा लाई कदर-पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको छ ।

एकछाकको ५ हजारको दरले हिसाब गर्दा आश्रममा आश्रित वृद्धवृद्धाका लागि २ वर्ष सम्म बिहान बेलुकीको सम्पूर्ण भोजनको जिम्मेवारी लिएका चौधरीले कम्तिमा ७३ लाख रुपैंया खर्च गर्ने भएका छन् । आफूले भारतमा चार्टड एकाउण्ट पढ्ने क्रममा आर्थिक अभावका कारण लंगर (निःशुल्क भोजन गराउने स्थान) मा छाक टार्नु परेको घटनालाई स्मरण गर्दै वृद्धाश्रममा सहयोग गरेको चौधरीले बताए । ‘मैले भारतमा सीए पढ्ने क्रममा आर्थिक अभावका कारण लंगरमा निकै छाक खाएर अध्ययनलाई अगाडी बढाएको थिएँ’, सम्मान कार्यक्रममा भावुक हुँदै चौधरीले थपे, ‘त्यसैले अहिले आर्थिक अवस्था राम्रो भएको समयमा उक्त घटनालाई स्मरण गर्दै आफ्नै गाउँघरमा दिनदुःखीहरुलाई निःशुल्क भोजनको व्यवस्था गर्ने सोच बनाएको थिएँ, तर लालबन्दी नगरपालिका-२ का वडाध्यक्ष मामा किरण पासवानले वृद्धाश्रममा भोजन गराउँदा सबैभन्दा राम्रो हुन्छ भन्नुभएपछि म यहाँ जोडिन आईपुगेको छु ।’

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले आर्थिक रुपले सम्पन्न भएर पनि कतिपय व्यक्तिले आफ्ना मातापितालाई आश्रममा आश्रित हुन बाध्य पारेको उल्लेख गर्दै आश्रममा आश्रित भएका वृद्धवृद्धालाई दुई वर्षको भोजनको प्रबन्ध गरेर चौधरीले निकै महान एवं पुण्य कार्य गरेको भन्दै धन्यवाद प्रकट गरे ।

स्वागत मन्तव्य राख्दै वृद्धाश्रमकी अध्यक्ष भवानी कोइरालाले आश्रमका लागि युवा व्यवसायी कृष्ण चौधरीको सहयोग हालसम्मकै ठूलो र महान भएकाले यो क्षणमा आफू निकै भावुक अनि अत्यन्त हर्षित भएको धारणा राखिन् । ‘वृद्धाश्रमका लागि नियमित सहयोग गर्ने अन्य निकै व्यक्तित्वहरु, पत्रकारहरु हुनुहुन्छ, तर यति ठूलो सहयोग पहिलोपल्ट पाईयो’, अध्यक्ष कोइरालाले हर्षाश्रुभावमा भनिन्, ‘आज वृद्धाश्रममा भगवान आएजस्तो आभास भएको छ ।’

आश्रमका संस्थापक अध्यक्ष वासुदेवसरण कोइरालाले युवा व्यक्तित्व चौधरीले वृद्धाश्रका लागि निकै महान पून्यको काम गरेको उल्लेख गर्दै उनका जन्मदाता मातापितालाई समेत धन्यवाद दिए । कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र चौधरी, मधेश प्रदेश सभाका सचिब बाशु कोइराला, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी (रमेश), नेपाली सेना भैरवी दल गण पाँचकुमारीका गणपति प्रमुख सेनानी सूर्य बहादुर कार्की, लालबन्दी नगरपालिका-१ का वडाध्यक्ष हरिप्रसाद भट्टराई सहित अन्य विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनैतिक दलका नेताहरु पत्रकारहरु, वृद्धाश्रम सञ्चालक समितिका पदाधिकारी, स्थानीय बासिन्दा लगायतको उपस्थिती रहेको थियो ।