logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

२५ वर्ष कैद सजाय तोकिएका अभियुक्त पक्राउ


  • उज्यालो अभियान

कौडेना, २२ कात्तिक – सर्लाही प्रहरीले २५ वर्ष कैद सजाय तोकिएर फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट २५ वर्ष कैद र एक लाख रुपियाँ जरिवाना तोकिएर फरार रहेका कौडेना गाउँपालिका–१, का ३९ वर्षीय राकेशकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । साह २०७८ साल मङ्सिर १६ गते कौडेना गाउँपालिका–१, कै शत्रोहन भन्ने शत्रुघन राउत कुर्मीको हत्यामा संलग्न रहेका प्रहरीले जनाएको छ ।

सर्लाही जिल्ला अदालतले यसै वर्ष गएको असार १७ गते कर्तव्य ज्यान मुद्दामा फैसला सुनाउँदै साहलाई २५ वर्ष कैद र एक लाख रुपियाँ जरिवाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका साहलाई छठ पर्वमा गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मलङ्गवा र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।

अदालतबाट सजाय तोकिएपछि साह सीमापारी भारतमा लुकिछिपी बस्दै आएका थिए । साहलाई अदालतमा पेश गरी अदालतको आदेश बमोजिम सजाय भुक्तानका लागि मलङ्गवा कारागार चलान गरिएको एसपी सिंहले बताए ।