logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

व्रतालुको पर्खाइमा छठघाट


  • उज्यालो अभियान

लालबन्दी ७ स्थित डुमडुमे मन्दिरको पोखरीमा वडा कार्यालयले तयार पारेको छठघाट ।

लालबन्दी, २२ कात्तिक – छठपुजाका लागि तयार पारिएका छठघाट व्रतालुको पर्खाइमा रहेका छन् ।

सर्लाहीसहित तराई, मधेशका जिल्लामा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउनका लागि छठघाट तयार पार्ने काम सम्पन्न भएको हो । सर्लाहीमा मात्रै २० वटा पालिकाका दुईसय भन्दा बढी स्थानमा छठघाट निर्माण गरिएको छ ।

बागमती, लखन्देही, झिम, बाँकेलगायतका खोलासहित जिल्लाभरका पोखरी, नहरलगायतका जलाशयमा छठघाट निर्माण गरिएको स्थानीयले बताएका छन् । गाउँले, वडा कार्यालय, नगरपालिकालगायत निकायको सहयोगमा छठघाट तयार पारिएको छ ।

केही स्थानमा पोखरी खनेर छठघाट निर्माण गरिएको छ । व्रतालुले छठका लागि आवश्यक पर्ने सरसामग्रीको जोहो गरिसकेका छन् ।

छठ पर्वको दोस्रो दिन हिजो व्रतालु ले ‘खरना’ विधि सम्पन्न गरेका छन् । छठको पहिलो दिन अस्ती ‘नहाय–खाय’ विधि सम्पन्न गरेका व्रतालुले हिजो कात्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ विधि पूरा गरेका हुन् । पवित्र स्नान गरी दिनभर निराहार उपवास अर्थात् व्रत बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाइ व्रतालुले त्यही खिर खाने गर्छन् ।

यो विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरी उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दुध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अरु सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

पर्वको तेस्रो दिन आज अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले नजिकैको जलाशयमा बनाइएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।

त्यसैगरी सप्तमीका दिन भोली बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोश्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्ठान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पु¥याउन जाने मैथिल परम्परा छ । अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ ।

पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । मधेशका गाउँ–गाउँमा छठका गीत गुञ्जिरहेका छन् ।

छठघाटमा व्रतालु, परिवारका सदस्य र अन्य मानिसको भिडभाड हुने भएकाले सोही अनुसार सुरक्षा प्रवन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।