जब्दी, १९ कात्तिक – सर्लाहीको लालबन्दी नगरपालिका-३, सिस्वामा आयोजित जिल्ला स्तरीय दोस्रो खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधि आयोजकले नै उचालेको छ ।
गएसाँझ सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सर्वनाम युवा क्लब ईश्वरपुर १५, बसहनियालाई तीन-शुन्यको सोझो सेटमा पराजित गर्दै आयोजक राजदेवी माता युवा क्लब लालबन्दी-३, सिस्वाले उपाधि सुरक्षित गरेको हो । सिस्वाले बसहनियालाई २९-२७, २५-२३ र २५-१७ को सेटमा पराजित गर्यो ।
जितसँगै सिस्वाले नगद ३० हजारसहित प्रतियोगिताको प्रथम ट्रफी हात पारेको छ । उपबिजेता बसहनियालाई नगद १५ हजार प्रदान गरिएको छ ।
प्रतियोगितामा बिजेता सिस्वाका स्पकाइकर राहुल गिरी सर्वश्रेष्ठ खेलाडी बन्न सफल बने ।
प्रतियोगिताको बिजेता, उपबिजेता र सर्वश्रेष्ठ खेलाडीलाई मधेश प्रदेश भलिबल सङ्घका अध्यक्ष एवं मधेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, लालबन्दी नगरपालिकाका निवर्तमान मेयर मानबहादुर खड्का, लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरीलगायत भएर पुरस्कार वितरण गरेका छन् ।