लालबन्दी, १८ कात्तिक – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा बेवारिसे एक महिलाले सडक पेटीमै बच्चा जन्माएकी छन् ।
नाम, ठेगाना खुल्न नसकेको र मानसिक सन्तुलन समेत ठीक नरहेको महिलाले आइतबार बिहान करिव ७ बजे शिशु (छोरी) लाई जन्म दिएकी हुन् । मागेर खाँदै हिँड्ने महिलाले सडक पेटीमै बच्चा जन्माएको भनी स्थानीयले खबर गरेपछि तत्कालै नवलपुर चोकमा पुगेर महिला र नवजात शिशुको उद्धार गरिएको लालबन्दी नगरपालिकाको विपद् तथा वातावरण शाखामा कार्यरत सुरेन्द्र खतिवडाले उज्यालो अभियानसँग बताए ।
सुत्केरी महिलालाई नगर अस्पताल लालबन्दी ल्याएर सामान्य उपचारपश्चात थप उपचारका लागि जनकपुरतर्फ पठाउने तयारी भइरहेको छ । महिलाले जन्माएको शिशु स्वस्थकर रहेपनि सुत्केरीको शरीरबाट साल छुट्टिन बाँकी रहेकाले सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्न आवश्यक रहेको नगर अस्पताल लालबन्दीले जनायो ।
महिलाको थप उपचार प्रदेश राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा हुने छ । सुत्केरी महिला र नवजात शिशु दुवैलाई राख्न मानव सेवाश्रम तयार भएकाले उपचारपश्चात आश्रमकै जिम्मा लगाउने तयारी रहेको खतिवडाले जानकानरी दिए ।
आईतबार बिहान चिसोको समयमै बेवारिसे महिलाबाट सडकमा शिशु जन्मिएको खबर पाएपछि लालबन्दी नगरपालिका–१, का वडाध्यक्ष हरिहर भट्टराई, नगरपालिकाको विपद् तथा वातावरण शाखाका कर्मचारी खतिवडा, सुरक्षाकर्मीलगायत भएर आमा र शिशु दुवैको उद्धार गरेका हुन् ।
सडक पेटीबाट उद्धार गरिएकी महिलाले आफ्नो नाम कृष्णा र घर भारतको अरैया बताए पनि सो कुराको पुष्टी हुन सकेको छैन् ।