मलंगवा, १५ कात्तिक – सर्लाहीमा पनि आज साँझ घर-घरमा भव्य रुपमा लक्ष्मीपूजा गर्ने तयारी भइरहेको छ ।
तराई क्षेत्रमा लक्ष्मीपूजालाई दीपावली समेत भन्ने गरिन्छ । सर्लाहीवासी बेलुका आ-आफ्नो घरमा लक्ष्मीपूजा गर्न घर सरसफाई गर्ने र लक्ष्मीपूजाको लागि आवश्यक पर्ने सरसामग्री जुटाउन ब्यस्त देखिएका हुन् ।
जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, बागमती, बरहथवा, हरिपुर, मलंगवा, बयलवासलगायतका बजारमा आज बिहानैदेखि पूजा सामग्री, मिठाई, दियो, बत्ती, फलफूल किनमेल गर्नेको अत्यधिक घुइँचो देखिन्छ ।
लक्ष्मीपूजा अर्थात् दीपावली गर्नेक्रममा विगतका वर्षहरुमा जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना भएकाले सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना नै प्रकाशित गरी सबैलाई सचेत गराएको छ ।
आज साँझ झिलिमिली बत्तीले सहर, बजार र ग्रामीण भेग समेत बत्तीमय बन्ने हाम्रा संवाददाताले जनाएका छन् ।