फाइल तस्बीर ।
नवलपुर, १५ कात्तिक – सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले तीहार र छठ पर्वअघि सर्लाहीखण्डको पूर्व–पश्चिम राजमार्गको खाल्डाखुल्डी मर्मत गर्ने काम तीव्र पारेको छ ।
कार्यालयले दशैँअघि पनि राजमार्गका खाल्डाखुल्डी मर्मत गरिएको जनाएको छ । अघिल्लो हप्ताको शनिबार भएको वर्षापछि राजमार्गमा पुनः दर्जनौँ स्थानमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेका थिए ।
चाडपर्वको समयमा सवारी चाप धेरै हुने र खाल्डाखुल्डी मर्मत नगरे सवारी दुर्घटनाको जोखिम हुने भएकाले तत्कालै मर्मतको काम गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । कार्यालयबाट सर्लाहीखण्डको पूर्व–पश्चिम राजमार्ग हेर्ने जिम्मेवारी पाएका कर्मचारी पुण्यप्रसाद खतिवडाले बागमतीदेखि बाँके पुलसम्मको अधिकांश ठाउँमा खाल्डाखुल्डी पुर्ने काम पूरा भइसकेको जानकारी दिए ।
खतिवडाका अनुसार कालिन्जोर पुलदेखि लखन्देहीसम्मको केही स्थानमा स–साना खाल्डाखुल्डी मर्मत गर्न बाँकी छ । यो खण्डमा पनि एक/दुई दिनभित्रै मर्मत गरेर सकिने खतिवडाले बताए ।
दशैँको समयमा पूर्व–पश्चिम राजमार्गमा भएर यो पटक पूर्व जाने सवारी साधन धेरै सञ्चालन भए । बीपी राजमार्ग बन्द हुँदा दशैँका बेला पूर्व–पश्चिम राजमार्गमा सवारीको चाप अत्यधिक रहेको थियो ।
अहिले बीपी राजमार्ग सूचारु भएपनि तीहार र छठ पर्वमा पुनः पूर्व–पश्चिम राजमार्गमा सवारीको चाप बढ्ने भएकाले राजमार्गका खाल्डाखुल्डी मर्मत गरेर दुरुस्त पार्न लागिएको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले जनायो ।
कार्यालयले सडकसँगै राजमार्गमा रहेका पुलका खाल्डाखुल्डी समेत मर्मत गर्ने काम गरिएको जनाएको छ ।