मलंगवा, १४ कात्तिक – सर्लाहीमा स्यालले टोकेर १३ जना घाइते भएका छन् ।
जिल्लाको बसबरिया गाउँपालिकामा ९ जना, गोडैता नगरपालिकामा ३ जना र बलरा नगरपालिकामा १ जनालाई स्यालले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बसबरिया गाउँपालिका–४, धनगढामा गएसाँझ खेतमा घाँस काट्न गएका बालबालिका र वृद्धवृद्धा गरी ९ जनालाई स्यालले टोकेर घाइते बनाएको छ ।
घाइते हुनेमा बसबरिया गाउँपालिका–१, का १० वर्षीय रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया शिवादेवी साह, ४० वर्षीय सहीद दर्जी, ४० वर्षकै मदैनिया दर्जी, ६ वर्षीय राजु मुखिया, बसबरिया गाउँपालिका–३, का १५ वर्षीय दीपेन्द्र माझी, बसबरिया गाउँपालिका–४, की १५ वर्षीया करुना साह र सोही वडाका ६० वर्षीय बद्री मुखिया रहेका छन् ।
प्रहरीका अनुसार घाइते ९ मध्ये केहीको प्रादेशिक अस्पताल मलङ्गवा र केहीको जनकपुरमा उपचार चलिरहेको छ । यस्तै स्यालले टोकेर गोडैता नगरपालिका–१०, सिसौटियामा तीन जना घाइते भएका छन् ।
गोडैता नगरपालिका–१०, बस्ने ४० वर्षीया इन्दुदेवी बैठा, ४० वर्षीया प्रेमा देवी मण्डल र ४१ वर्षीय विपत पासवानलाई खेतमा घाँस काट्न गएका बेला स्यालले टोकेर घाइते बनाएको हो । घाइते इन्दुदेवी बैठा र प्रेमा देवी मण्डललाई थप उपचारका लागि टेकु अस्पताल काठमाडौं लगिएको छ भने विपत पासवान प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।
त्यस्तै स्यालले टोकेर बलरा नगरपालिका–४, मा ६० वर्षीया सोमरी देवी घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।
स्थानीय वासिन्दाका अनुसार धनगढा र सिसौटियाका १२ जनालाई एउटै स्यालले टोकेको हो । बलराकी सोमरी देवीलाई भने बेग्लै स्यालले टोकेको स्थानीयले जानकारी दिएका छन् ।