मलंगवा, कात्तिक १२ – इलाका प्रहरी कार्यालय लालबन्दीले विभिन्न मितिमा बरामद गरेको १६ क्विन्टल गाँजा आज अदालत परिसरमा लगेर जलाइएको छ ।
लालबन्दी प्रहरीले १६ क्विन्टल १२ किलो ८४० ग्राम लागुऔषध गाँजा सदरमुकाम मलङ्गवास्थित सर्लाही जिल्ला अदालत परिसरभित्र जलाएर नष्ट गरेको हो । गएको जेठ २३ गते लालबन्दी नगरपालिका–१४, नारायणखोलाबाट बरामद गरिएको १६ क्विन्टल दुई किलो र त्यसपछिको मितिमा बरामद गरिएको गाँजा कानून बमोजिम अदालत परिसरमा लगेर नष्ट गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एव प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । उनका अनुसार अदालतले नै उक्त गाँजा नष्ट गर्नु भनी आदेश दिएपछि सोही बमोजिम अदालत परिसरमै लगेर जलाइएको हो ।
प्रहरीले बरामद गर्ने गाँजा प्रायः मानव बस्तीदेखि टाढा खोला किनारमा लगेर जलाउने गरिएकोमा यसरी अदालत परिसरमै लगेर जलाउने काम बिरलै हुने गरेको छ ।
घना बस्तीको बिचमा रहेको अदालत परिसरमा लगेर ठूलो परिमाणमा गाँजा जलाइँदा मलङ्गवाको जिविस चौक तथा आसपासको क्षेत्र धुँवाले कुहिरीमण्डल र दुर्गन्धित बनेको छ ।
अदालत परिसरमा ल्याएर गाँजा जलाइँदा स्थानीयले आश्चर्य व्यक्त गरेका छन् ।