हरिपूर्वा, १० कात्तिक – सर्लाहीको हरिपूर्वामा एक भारतीय युवकको विभत्स ढङ्गले हत्या गरी फरार रहेका युवक डेढ वर्षपछि पक्राउ परेका छन् ।
भारतीय नागरिक २६ वर्षीय शेखर सुमन भन्ने सिकु कुमारलाई धारिलो हतियारले घाँटी काटेर हत्या गरेको अवस्थामा २०८० बैशाख २६ गते हरिपूर्वा नगरपालिका–१, स्थित अनरजित महराको खेतमा शव फेला परेको थियो । सो घटनामा संलग्न भारतको बिहार राज्य सितामढी जिल्ला सोनवर्षा थाना पुरनदाहा ग्रामपन्चायत राजवाडा बस्ने २७ वर्षीय धर्मेन्द्र रायलाई प्रहरीले डेढ वर्षपछि पक्राउ गर्न सफल भएको हो ।
उनलाई मलङ्गवा नगरपालिका–८, स्थित नेपाल–भारत सीमा नजिक गोरखकालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार सिकु कुमारको हत्यामा छ जना संलग्न रहेको खुलेको छ ।
तिमध्ये यसअघि एक जना पक्राउ परेका थिए । चार जना अझै फरार नै रहेका र उनीहरुको खोजी भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।
एसपी सिंहका अनुसार पक्राउ परेका धर्मेन्द्रले नै सिकु कुमारलाई मोटरसाइकलमा हालेर सीमावर्ती क्षेत्र नजिक पर्ने हरिपूर्वा ल्याएर छ जना मिलेर हत्या गरेका थिए । धर्मेन्द्रलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।