जब्दी, ०७ कात्तिक – उपाधि दाबेदार मानिएको वडा नं. १६ परवानिपुर सातौं नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगितामा पहिलो खेलबाटै बाहिरिएको छ ।
लालबन्दी ३ जब्दी भैरवपुरमा जारी प्रतियोगितामा आज वडा नं. ९ बस्तीपुरसँग दुई–एक गोलले पराजित हुँदै साबिक बिजेता समेत रहेको वडा नं. १६ परवानिपुर प्रतियोगिताबाट बाहिरिएको हो ।
लालबन्दी १६ ले वडाध्यक्ष कप फुटबलमा ह्याट्रिक समेत गरिसकेको थियो । तर यो वर्ष भने पहिलो खेलमै स्तब्ध हुनुपरेको छ । खेलमा लालबन्दी ९ का सिमान्त बलम्पाकी मगर म्यान अफ दी म्याच बन्न सफल भएका छन् ।
यस्तै आज भएको अर्को खेलमा वडा नं. २ ले वडा नं. १५ लाई शुन्यका विरुद्ध दुई गोल गर्दै पराजित गरेको छ । वडा नं. २ लाई जिताउन दुबै गोल गर्ने कप्तान शिव चौलागाईं म्यान अफ दी म्याच बनेका छन् ।
यो पटक लालबन्दी ३ को वडा कार्यालयले आयोजना गरेको फुटबल खेलको फाइनल कात्तिक १४ गतेसम्म हुने छ ।
प्रतियोगितामा पहिलो हुने वडाले एक लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुने वडाले ५५ हजार ५५५ रुपैयाँ र तेस्रो हुने वडाले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए ।