कौडेना, ०७ कात्तिक – सर्लाहीको कौडेना गाउँपालिकाले सामाजिक सन्जालमा मिथ्या सूचना प्रवाह गरिएको भन्दै आपत्ति जनाएको छ ।
गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी बेरुजुको विषयलाई लिएर केही युवाले सामाजिक सन्जालको दुरुपयोग गरी जथाभावी ‘स्टाटस्’ लेखेर भ्रमित पार्ने काम गरेको भन्दै आपत्ति जनाएको हो । कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले सामाजिक सन्जालमा अनर्गल प्रचार गरी आफूलाई बद्नाम गराउने र गाउँपालिकाका सोझा नागरिकमा भ्रम पैदा गर्ने काम भइरहेको बताए ।
महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको आर्थिक प्रतिवेदनलाई लिएर गाउँपालिकाविरुद्ध १० जना युवाको समूह अफवाह फैलाउन लागिपरेको उनको भनाई छ । गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै तलब, भत्ता, यातायात सुविधालगायत सरकारबाट पालिका अध्यक्षलाई प्रवाह हुने कुनै सेवासुविधा नलिएको आफूलाई बद्नाम गराउन सामाजिक सन्जालमा जथाभावी ‘स्टाटस्’ लेखिएकोमा अध्यक्ष बब्लुले खेद प्रकट गरेका छन् ।
उनले सामाजिक सन्जालमा प्रचार गरिएजस्तो गाउँपालिकामा कुनै किसिमको भ्रष्टाचार नभएको दावी गर्दै गाउँपालिकाको बेरुजु समेत अघिल्लो पटकका जनप्रतिनिधिको तुलनामा आधा भन्दा कम रहेको उल्लेख गरे । महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा कौडेना गाउँपालिकाको बेरुजु एक करोड २२ लाख रुपियाँ रहेको छ ।
नयाँ जनप्रतिनिधि निर्वाचित भएर आउँदा अघिल्लै पटकका जनप्रतिनिधिले सम्पूर्ण योजना संचालन गरिसकेका अघिल्लो आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाको बेरुजु तीन करोड ७५ लाख रुपैयाँ रहेको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष बब्लुले बताए ।
अघिल्लो आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत केही विद्यालयमा भवन निर्माणका लागि रकम निकासा भएर गएको तर विभिन्न विवादका कारण भवन बन्न नसकेर सो रकममा समेत बेरुजु आएको गाउँपालिका अध्यक्ष बब्लुको भनाई छ । उनले कागजात नपुगेको शिर्षकमा कागजात जुटाउने र असुल गर्नुपर्ने बेरुजु रकम असुलउपरको प्रक्रियामा लगिएकाले जथाभावी प्रचारप्रसार गरेर मानिसलाई भ्रमित पार्ने काम नगर्न आग्रह गरे ।
कौडेना गाउँपालिकाका लेखा प्रमुख हरिनारायण साहले बेरुजुमा देखिएको रकमलाई भ्रष्टाचार भन्न नमिल्ने बताए । उनले आर्थिक वर्षको अन्तिममा काम भइसकेर पनि भर्पाई आउन बाँकी रहेको, आवश्यक कागजात नपुगेको जस्ता कारणले समेत बेरुजु आउने भएकाले ति सबै बेरुजुमा कडिकडाउ गरेर कागजात संकलन गर्ने र असुलउपर गर्नुपर्ने ठाउँमा नगदै असुल गर्ने काममा लागि परेको जानकारी दिए ।
कौडेनास्थित कृषि तथा पशुपन्छी विकास भवनमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाकी उपाध्यक्ष नगीना देवी, प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव रायलगायतको उपस्थिति रहेको थियो ।