logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

उत्पादन कम हुँदा तरकारी निर्यात घट्यो


  • उज्यालो अभियान

लालबन्दी, ०६ कात्तिक – उत्पादन नै कम हुँदा लालबन्दी बजारबाट तरकारीको निर्यात घटेको छ ।

असोज १०, ११ र १२ गतेको भारी वर्षापछि यस क्षेत्रमा तरकारी उत्पादनमा व्यापक गिरावट आएको किसानले बताएका छन् । तीन दिनको घनघोर वर्षामा ठूलो क्षति बेहोरेका किसानलाई शनिबार राति भएको बेमौसमी वर्षाले थप निराश पारेको छ ।

तीन दिनको वर्षापछि बल्लतल्ल हुर्काइरहेको तरकारीमा शनिबार रातिको पानीले थप क्षति गरेपछि किसान निराश बनेका हुन् । पानी परिरहेर किसानको बारीमा नै तरकारी कम फल्दा लालबन्दी बजारबाट देशका विभिन्न शहरमा निर्यात हुने तरकारीको परिमाणमा कमी आएको बजार समितिले जनाएको छ ।

दैनिक ४० टनको हाराहारीमा तरकारी निर्यात हुने लालबन्दी बजारबाट तीन दिनको भारी वर्षायता मुस्किलले दैनिक १५ देखि २० टन तरकारी निर्यात भइरहेको लालबन्दी थोक तरकारी बजार समितिका अध्यक्ष समेत रहेका व्यापारी तोरनबहादुर मगरले बताए । लालबन्दीबाट मुख्यगरी सङ्घीय राजधानी काठमाडांैंका बजारमा धेरै परिमाणमा तरकारी निर्यात हुने गरेको छ ।

अहिले बजारमा तरकारी कम आउने समस्या र अर्कोतर्फ काठमाडांैं जाने सडकमा अत्यन्त जाम पर्दा तरकारी बोकेर जाने गाडी बेलैमा पुग्न नसकेको व्यापारी मगरले बताए । उनका अनुसार बजारमा तरकारी कम भित्रिँदा व्यापारीले नै किसानसँग बढी मूल्यमा किन्नु परेको छ ।

थोरै परिमाणमा फलेको तरकारीले राम्रो म्ूल्य पाउँदा किसानलाई राहत मिलेपनि आमउपभोक्ता हरियो तरकारीमा अचाक्ली भाउ बढ्दा मारमा परेका छन् । लालबन्दी तरकारी बथारका अर्का थोक व्यापारी मोहम्मद उस्मानले बजारमा तरकारी कम आउँदा बाहिरका बजार तथा मुख्य शहरमा पर्याप्तमात्रामा तरकारी पठाउन नसकेको गुनासो गरे ।

उस्मानका अनुसार केही दिनदेखि बरहथवा, जिरायत, घुर्कौली, हरिवनलगायत क्षेत्रबाट परबल र भान्टा उत्पादन भएर आउन थालेकोमा शनिबार रातिको वर्षाले बजार आउने तरकारीको परिमाण फेरि घट्न थालेको छ । शनिबारको पानीले तरकारीको भाउ स्थानीय स्तरमै झनै बढेको छ ।

व्यापारीले नै किसानसँग परबल किलोको ५० रुपियाँ, भान्टा ७० रुपियाँ, भिन्डी ५० रुपियाँ, बोडी ८० देखि १०० रुपियाँ प्रतिकेजीमा किनिरहेका छन् । यि तरकारी उपभोक्तासम्म पुग्दा थप महँगो भएर पुग्ने गरेको छ ।

पानीले गर्दा यो वर्ष सर्लाहीमा स्थानीय गोलभेँडा उत्पादन हुन सकेको छैन् । बारम्बार पानी परेर बेर्ना नै हुर्काउन नपाउँदा गोलभेँडा फलाउन नसकिएको किसानको भनाई छ ।

गोलभेँडाको सहर भनेर चिनिने लालबन्दीमा अहिले भारतबाट ठूलो परिमाणमा भारतीय गोलभेँडा भित्रिरहेको छ । यहाँको बजारमा भारतीय गोलभेँडा प्रतिकेजी दुई सय रुपियाँ भन्दा माथिमा बिक्री भइरहेको छ ।