लालबन्दी, ०५ कात्तिक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आज अपरान्ह पूूर्व पश्चिम राजमार्गस्थित लालबन्दीमा प्रदर्शन गरेका छन् ।
पार्टी सभापति एवं पूर्व उपप्र्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा ‘सत्य डग्दैन, असत्य टिक्दैन’ भन्ने नारासहित रास्वप सर्लाही क्षेत्र नं. १ का नेता, कार्यकर्ताले लालबन्दीमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
रास्वपाका कार्यकर्ताले लालबन्दीस्थित बजार क्षेत्रको पूर्व पश्चिम राजमार्गमा र्याली निकाल्दै बस्तीपुर चोकसम्म पुगेर इलाका प्रहरी कार्यालय लालबन्दी अगाडि पुगेर कोण सभा गरेका छन् ।
कोण सभालाई पार्टीका नेताहरु बैकुण्ठ सापकोटा, गोविन्द ढुंगेल, सरोज बानियाँ, खड्गबहादुर थापा, बालकृष्ण कार्की, खेम थापा र रेखा खड्काले सम्वोधन गर्दै पार्टी सभापति लामिछानेलाई सरकारले प्रतिसोध साँधेर पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरे ।
सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर पोखरा लगी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।